११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

निर्मला हत्या प्रकरणः डिएनए परीक्षणका लागि नमुना विदेश पठाउने तयारी



काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनए परीक्षणका लागि विदेश पठाउने तयारी भएको छ ।
पछिल्लो समयय डिएनको वैधानिकतामै प्रश्न उठ्न थालेपछि नेपाल प्रहरीले उक्त स्वाब नै जाँचका लागि विदेश पठाउने तयारी गरेको स्रोतले जानकारी दियो। ‘यसबारे छलफल भइरहेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि डिएनएको वैधानिकतामाथि प्रश्न पठाएको छ,’ स्रोतले भन्यो, ’विदेशमा जाँच गराउन पठाउनेबारे छलफल भइरहेकोले केही दिनमा टुंगो लाग्ला।’तर, कुन देश पठाउने भन्ने टुंगो लागिसकेको छैन। यसबारे पनि छलफल भइरहेको छ।
मानव अधिकार आयोगले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा स्वाबमा भएको डिएनएको जाँच प्रक्रियामा त्रुटि भएकाले डिएनएलाई आधार नमानी अनुसन्धान गर्नसमेत सुझाव दिएको थियो।
प्रहरी बयानमा अभियुक्त भनिएकाहरुले हत्या र बलात्कार स्विकार गर्नु तर डिएनए नमिल्नुले निर्मला हत्या काण्ड झनै रहस्यमय बन्दै गएको छ। गत साउन १० गते घरबाट साथीकहाँ जान्छु भनेर निस्केकी बालिका पन्तको शव भोलिपल्ट नजिकैको उखुबारीमा भेटिएको थियो।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १० : ३७ बजे