एजेन्सी ।
आर्सनलका मिडफिल्डर आरोन राम्सी आउँदो सिजन इटालियन क्लब युभेन्टस जाने पक्का भएको छ ।
इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका राम्सीले आउँदो सिजनमा इटालियन क्लब युभेन्टस जाने बारे पूर्व सहमति गरेका हुन् । उनले युभेन्टसमा हप्ताको चार लाख पाउण्ड स्ट्रर्लिङ्ग पारिश्रमिक पाउने गरी सम्झौता गरेका छन् ।
२८ वर्षका राम्सीले इटालियन च्याम्पियन युभेन्टससँग चार वर्षको सम्झौता गरेका हुन् । यो सिजनको अन्त्यसँगै राम्सीको आर्सनलमा ११ वर्षको यात्रा टुंगिने भएको हो । उनले गएको जनवरीमै दुईपटक मेडिकल गरिसकेका थिए ।
राम्सीको आर्सनलसँगको सम्झौता आउँदो जुन ३० मा सकिने छ । राम्सी फ्रि एजेन्ट मार्फत जाने भएकाले उनले क्लब छोड्दा आर्सनलले कुनै रकम पाउने छैन ।
युभेन्टस र आर्सनल दुवै क्लबले सम्झौताबारे औपचारिक जानकारी दिएका छन् । राम्सीले आर्सनलका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र उनी जहिले पनि हृदय र स्मृतिमा रहने बताएको छ ।
राम्सीले इन्स्टाग्राममा गरेको पोस्टमा आर्सनलका फ्यानलाई धन्यबाद दिएका छन् र बाँकी रहेको समयमा पनि आफ्नो शतप्रतिशत लगाव रहने बताएका छन् ।
प्रतिक्रिया