११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

उद्योग मैत्री कानुन निर्माण गरिनु पर्छः मन्त्री गिरी



मायादेवी अनलाइन, कपिलवस्तु ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अबका कानुनहरु उद्योग मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । मुलुक संघिय संरचनामा गइसकेपछि धेरै कानुनहरु निर्माणको क्रममा रहेकाले अब बन्ने कानुनहरु समुदाय तथा उद्योग मैत्री बनाउने मन्त्री गिरीले बताउनुभयो । कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघ कपिलवस्तुको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री गिरीले व्यावसायीले वन पैदावार उद्योग व्यवसायमा लगाएको लगानी डुब्न नदिनको लागि अबका कानुनहरु उद्योगमैत्री हुनुपर्ने भन्दै बताउदै यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।
अबको परिप्रेक्षमा वनजंगलको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउदै सिजी मिल (प्रशोधन) प्लान्ट जडान गर्न व्यावसायीलाई आग्रह गर्नुभयो । सिजी मिल जडानपछि काठमा धुलिया नलाग्ने, छिटो नविग्रने बताउँदै यसका लागि लगानीमैत्री वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री गिरीले वन अतिक्रमण नियन्त्रणमा सामुदाय जिम्मेवार हुनुपर्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले वन व्यवस्थापनमा शुशासन कायम गर्न छोडेर केही बनहरुमा विचौलियाले उपभोक्ताको नाममा काठ लिएर मिलमा विक्रि वितरण भैरहेको सूचना पाएको हुँदा त्यस्ता गलत क्रियाकलाप रोक्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष रुक बहादुर भूषालले वन पैदावार उपयोगको लागि राज्यले उद्योग व्यवसायी मैत्री नीतिको अभाव भएकोले लगानीकर्ताहरु मर्कामा परेको भन्दै दुखेसो पोख्नुभयो । कार्यक्रममा प्रदेश सांसद अर्जुन केसी, धर्म बहादुरलाल श्रीवास्तव र सुधादेवी दुवे लगायतले शुभकामना दिनुभएको थियो ।
संघका महासचिव छवि रेश्मी मगरको संचालन र बरिष्ठ उपाध्यक्ष नवराज लामिछानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । बन्द शत्रमा सचिव ओम प्रकाश कुर्मीले वार्षिक तथा कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको थियो । अधिवेशनले नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सदस्यहरुबीच छलफल भैरहेको अध्यक्ष रुक बहादुर भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  १ : ३४ बजे