११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

ट्राफिकले ल्यायो कम्युनिकेसन एप, सवारी दुर्घटना रोकिने आशा



बुटवल ।
सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । विशेषगरी लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो ।
पांच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याउनुभएको हो ।
यो एप प्रयोगमा आएपछि लामो दुरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने छ । पहिलो चरणमा काठमाडौंको नागढुंगा,सर्लाहीको कर्मैया,नवलपरासीको भूमही र बांकेको कोहलपूरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालय दांगका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो लामो दुरीमा चल्ने सवारी साधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर,प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ ।
ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जांच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । ट्राफिक प्रहरीहरुले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर,टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउन पाउने छैनन् ।
यसमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था समेत रहेको छ । एपको प्रयोगले समयको पालना, तीब्र गतिमा नियन्त्रण भई सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि यो एप उपयोगी हुने ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।
। संयुक्त राष्ट संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मान्छे सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । नेपालमा एक वर्षमा २५ सय ९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनाबाट ११ सय ७६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  १ : ५९ बजे