दीपा महत, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय तोकिएको लक्ष्य अनुसार राजश्व उठाउन असफल देखिएको छ । चालु आवको ६ महिना वितिसक्दा कृष्णनगर भन्सारले तोकिएको राजश्व उठाउन असफल देखिएको हो । साउन देखि माघ २१ गते सम्म कृष्णनगर भन्सारले लक्ष्यको ३८ प्रतिशत मात्र राजश्व उठाएको छ । गत बर्ष यही समयमा झण्डै लक्ष्यको ५३ प्रतिशत राजश्व उठेको थियो ।
भन्सार कार्यालयको तथ्याङ्क हेर्दा साउन देखि माघ महिनाको २१ गते सम्म दुई महिना मात्र लक्ष्य अनुसार राजश्व उठेको देखिन्छ । जसमा भदौ र असोज महिना छन । भदौ महिनामा ९३.५८ प्रतिशत राजश्व उठेको थियो भने असोज महिनामा ९९.५८ प्रतिशत राजश्व उठेको थियो । यी दुई महिनामा चाडपर्व पर्ने भएको कारण लक्ष्य अनुसार राजश्व उठ्न सफल भएपनि कार्तिक महिनामा लक्ष्यको आधा पनि राजश्व उठेन । अरु महिनामा लक्ष्यको आधा मात्र राजश्व उठेको तथ्याङ्कले देखाउँछ ।
यस बर्ष लक्ष्य भन्दा कम राजश्व उठ्ने देखिए पछि भन्सार कार्यालयले राजश्व बढाउने विभिन्न उपाय अपनाउन थालेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विष्णु प्रसाद पौडेलले वितेका ६ महिनामा तोकिएको राजश्व उठाउन नसकिएको स्विकार गर्नुभयो । राजश्व तोकिएको भन्दा कम उठेपछि विभिन्न सरोकारवाला संग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘यस बर्ष लक्ष्य अनुसार राजश्व उठ्न गाह्रो देखिएको छ भन्सार प्रमुख पौडेलले भन्नुभयो, “विभिन्न उद्योगीहरु संग यस विषयमा छलफल गरिरहेका छौं ।”
कृष्णनगर भन्सारमा ९० प्रतिशत राजश्व क्लिङ्करबाट उठ्ने गरेको छ । गत बर्ष देखि क्लिङ्करको उत्पादन नेपालमै हुन थालेपछि भारतबाट कम आयात हुने गरेको भन्सार कार्यालय बताउँछ । दाङमा क्लिङ्करको उत्पादन हुन थालेपछि आयात घटेको भन्सार प्रमुख पौडेलले दाबी गर्नुहुन्छ । भारतबाट भन्दा नेपालबाट क्लिङ्कर सस्तो पर्दो रहेछ उहाँले भन्नुभयो, त्यसले पनि राजश्व उठ्न गाह्रो भएको हो ।
गत बर्ष सुठौली छोटी भन्सार कार्यालयबाट पनि कृष्णनगरले राजश्व उठाउने गरेको थियो । तर, यस बर्ष छोटी भन्सार स्तरउन्नती भएर मूल भन्सार कार्यालय भएको छ । सुठौली भन्सारले अन्य चार ओटा छोटी भन्सार हेर्ने गरेको छ । त्यसले पनि कृष्णनगर भन्सारमा राजश्व संकलनमा असर पुगेको कर्मचारी बताउँछन ।
भन्सार नाकाबाट सिमेन्टका कच्चा पदार्थ (क्लिङ्कर), खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । यस्तै कोइला, जीरा चामल र कनिका, गहुँ, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको भन्सार अधिकृत चौधरीको भनाई छ । नेपालको सिमानाबाट सबैभन्दा नजिकको ब्रोडगेज लाइन भएको भारतीय रेलवे स्टेसन छ ।
२७ माघ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया