११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फुल्ह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड उक्लियो चौथो स्थानमा



एजेन्सी । 

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुल्ह्याममाथि ३–० गोल अन्तरको जित निकाल्न सफल भएको छ ।

अन्तरिम प्रशिक्षक ओले गुनरलाई नियुक्त गरेपछि लगातार अपराजित यात्रा कायम राखेको युनाइटेडको जितमा पल पोग्बाले दुई तथा एन्थोनी मार्सिएलले एक गोल गरेका थिए ।

पहिलो हाफको १४ औं मिनेटमा पल पोग्बाले एन्थोनी मार्सिएलको पासमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । सुरुमै एक गोल आएपछि बराबरीका लागि फुल्ह्यामले प्रयास गरे पनि सफल भएन ।

२२ औं मिनेटमा मार्सिएलले फुलह्यामका डिफेन्डर डेनिसलाई झुक्याउँदै ३० यार्ड टाढाबाट पोस्टमा चार्ज गरेका थिए । पहिलो हाफमै २ गोल गरेको म्यान्यूले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो ।

तेस्रो गोल म्यान्यूले पेनाल्टी मार्फत गरेको हो । ६५ औं मिनेटमा जुवान माटालाई डी बक्समा लडाएपछि म्यान्यूले पाएको पेनाल्टीलाई पोग्वाले गोलमा परिणत गरेका थिए । जितसँगै म्यानचेस्टर युनाइटेड  तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७५ आइतबार ००:००  २ : ०० बजे