११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

ब्राजिलको ठूलो फुटबल क्लबको छात्रबासमा आगलागी, १० खेलाडीको मृत्यु



एजेन्सी ।
ब्राजिलको एक ठूलो फुटबल क्लबको युवा ट्रेनिङ्ग सेन्टरको छात्रबासमा आगलागी हुँदा १० किशोर खेलाडीको ज्यान गएको छ । फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ्ग सेन्टर निन्हो दि उरुबुमा रहेको छात्रबासमा आगलागी भएको हो । रियो दि जेनेरियोमा रहेको क्लबको प्रशिक्षणमा भएको आगलागीमा तीन किशोर खेलाडी घाइते भएका छन् ।
एकजनाको अवस्था गम्भीर छ र उनलाई विशेष उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण थाहा भएको छैन र घटनाबारे अनुसन्धान सुरु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार छात्राबासको रुपमा प्रयोग गरिएको क्षेत्र आधिकारिक रुपमा कार पार्कका लागि स्वीकृति लिएको ठाउँ हो । आफ्नो कोठामा रहेको एयर कन्डिसनरबाट आगो सुरु भएको एक किशोर खेलाडीले बताएका छन् । १७ वर्षमुनिको टिमका खेलाडी फिलिपे कार्डोसोले भनेका छन्, ‘एयर कन्डिसनरमा आगो सल्कियो, यो देखेपछि म भागेँ ।
फ्लेमेङ्गो ब्राजिलको ठूलो फुटबल क्लब हो र यसको प्रसिद्धि अन्तर्रा्ष्ट्रिय रुपमा पनि छ । गएको सिजन ब्राजिलको शीर्ष लिगमा फ्लेमेङ्गो दोस्रो भएको थियो । क्लबको १२३ वर्षको इतिहासमा यो सबैभन्दा भयानक घटना रहेको क्लबका अध्यक्ष रोडोल्फो ल्याण्डिमले बताएका छन् । फुटबल लेजेण्ड पेलेले घटना ब्राजिलियन फुटबलका लागि निकै दुःखद रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५ शनिबार ००:००  ६ : ५७ बजे