सीताराम चौधरी, चन्द्रौटा ।
पछिल्लो पुस्ताका युवायुवतीमा परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । बदलिँदो समयानुसार पछिल्लो पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । हरेक कार्यमा अनिवार्य चाहिने ढकिया बुन्ने सीपप्रति युवा पुस्ताले बेवास्ता गर्दा यो सीप हराउँदै गएको थारु अगुवा गुनासो गर्छन् ।
थारु समुदायमा पूजाआजा जस्ता शुभकार्य, विवाहमा दाइजोको रुपमा, मृत्युवरणपछि दानको रुपमा ढकिया अनिवार्य दिइने प्रचलन पराम्परादेखि नै चल्दै आएको छ । तर पश्चिमा संस्कृतिको विकाससँगै विस्तारै अन्य वस्तुको प्रयोग हुन थालेपछि ढकिया लोप हुन लागेको थारु महिला अगुवा एवं शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी बताउँछिन जसले गर्दा पछिल्लो पुस्ताका युवतीहरुमा समेत ढकिया बुन्ने सीप हराउँदै गएको उपप्रमुख थारुको गुनासो छ । पछिल्लो पुस्तामा ढकिया बुन्ने सीप हराउँदै गएपछि बजारको माग अनुसारको सीप प्रवद्र्धनका लागि नगरपालिकाबाट आफू अग्रसर भएको उनले बताइन ।
परम्परागत हस्तकला सीप लोप हुँदै गएपछि अहिले शिवराज नगरपालिका १, उमरीका थारु महिलाहरु ढकिया बुन्ने सीप जोगाउन लागिपरेका छन् । ढकिया खेतबारीमा पाइने खर (मुज र पुँजा) बाट निर्माण गरिन्छ । परम्परागत रुपमा निर्माण गरिएका ढकियाको अस्तित्व संकटमा पर्न थालेपछि बजारको माग अनुसार मुज र पुँजाबाट कलात्मक आकृतिका वस्तुहरु बनाउने सीप सिक्न थारु महिलारु अग्रसर भएका छन् ।
शिवराज नगरपालिका र किर्डाक नेपालले थारु महिलाहरुका लागि आकर्षक किसिमका विभिन्न सामग्री बनाउने सीप सिक्ने अवसर जुटाइदिएको छ । त्यस गाउँका ३५ जना महिलाहरु यतिबेला खरका कलात्मक सामग्री निर्माण गर्ने सीप सिक्नमा व्यस्त छन् ।
तालिम पन्ध्र दिनका लागि आयोजना गरिएको छ । अहलिे तालिममा थारु महिलाहरु ढकिया, दिलडब्बा, पेनदानी, गमला, फूलदानी, किस्ती, खुत्रुके, चकटी लगायतका सामाग्रीहरु बनाउन सिकिरहेका छन् । “धेरै प्रकारका सामग्री बनाउन सिक्न बाँकी छ, तर तालिमको अवधि छोटो भयो” –तालिमका सहभागीहरुले गुनासो पोखे । “तालिम संचालन भएको १२ दिन बित्यो, तर तालिमको अवधि सकिनै लाग्दा पनि भनेजति सीप सिक्न सकिएन”–अनुगमनमा आएकी उपप्रमुख शिवकुमारी थारुसामु सहभागीले गुनासो गरे ।
तालिम अति नै उपलब्धीमूलक भएको तालिमकी सहभागी बसन्ती थारुले बताइन । यो सीपले आफूलाई आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन । आफूहरु पढ्न नसकेर केही गर्न नसकेपनि योे सीप सिकेपछि केही गर्न सक्छु भन्ने आशा जागेको सहभागी सीमा थारु बताउछिन । ढकिया बुन्ने तालिमका लागि विभिन्न बुट्टा बनाउन आवश्यक पर्ने रङ बाहेक अन्य कुनै पनि खर्च हुँदैन । यसका लागि आवश्यक पर्ने मुज र पुँजा खेतबारीमा सिजनको बेला पाइन्छ । सीप नपाएर आफू बेरोजगार बनेको तालिमकी अर्की सहभागी मुना थारुले बताइन । पाएको सीपले आफू स्वरोजगार बन्न मद्धत पुग्ने उनले विश्वास व्यक्त गरिन ।
किर्डाक नेपालले पाँच दिनको लागि तालिम आयोजना गरेपनि सो अवधिमा केहीपनि सिक्न नसक्ने सहभागीको गुनासोलाई मध्यजजर गर्दै नगरपालिकाबाट तालिमको अवधि १० दिन थप गरेको उपप्रमुख थारुले बताइन । पन्ध्र दिने तालिममा प्रशिक्षकको लागि रकम व्यवस्था गरिएको छ । शिवराज नगरपालिकाले २० हजार र किर्डाक नेपालले १० हजार आर्थिक सहयोग गरेको उपप्रमुख थारुले बताइन । लोप हुँदै गएको हस्तकला, सीपलाई प्रवद्र्धन गर्न र सीप सिकाएर आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको उनले जनाइन । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न समेत सहभागीलाई सुझाव दिएकी छिन ।
२६ माघ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया