बुटवल ।
प्रदेश नं ५ का सांसदहरुले प्रादेशिक भूमि आयोग गठन गरेर अव्यवस्थित बसोवास र सुकुम्बासी समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा. कृष्ण प्रसाद न्यौपाने र भोजप्रसाद श्रेष्ठले अव्यवस्थित बसोबास र सुकुम्बासी बस्तीमा राज्यले लगानी गर्ने तर जनताले वर्षाैसम्म बसोबास गरे पनि लालपुर्जा नपाउँदा समस्या परेको भन्दै तत्काल प्रादेशिक भूमि आयोग गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या सदाका लागि अन्त्य गर्न माग गरे ।
प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद डिल्लीबहादुर चौधरीले एक महिनामा एक पटक मुख्यमन्त्री र सांसदहरुबीच अन्तरक्रिया गर्ने व्यवस्था मिलाउन माग गरे । कतिपय स्थानीय तहहरुले अझै सम्म पनि नदीजन्य पदार्थ उत्खाननका लागि ठेक्का नलगाउँदा राज्यलाई ठूलो धनराशी नोक्सानी भएको भन्दै उनले स्थानीय तहहरुलाई छिटो ठेक्का लगाउने व्यवस्था मिलाउन समेत माग गरे ।
सत्तारुढ दलका सांसद कुलप्रसाद पोखरेलले प्रदेश विकास परिषद् गठन भएको सांसदहरुले सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै परिषद् गठन कुन आधारमा गरिएको हो भन्ने विषयमा सदनलाई जानकारी गराउन माग गरे ।
प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश नं ५ तथ्याङ्क सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा सांसद इन्द्रजीत थारु र कमला बिक.ले सहभागिता जनाएका थिए । शुक्रबारकै बैठकमा संसदको कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश नं ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरे ।
त्यसैगरी संसदको भौतिक पुर्वाधार समितिका सदस्य इन्द्रप्रसाद खरेलले प्रदेश नं ५ भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभामा पेश गरे ।
प्रतिक्रिया