११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसममा भोलिदेखि सुधारको सम्भावना



काठमाडौँ ।

पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण विहीबारदेखि मुलुकभर सुरु भएको वर्षा र हिमपात जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव विहीबाररातिदेखि पूर्वतर्फ बढ्दै गएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै उनले पूर्व्तिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने बताउनुभयो । पर्सी भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

काठमाडौँ आसपासका क्षेत्रमा दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा भएको छ । मौसम सम्बन्धि जानकारी दिदै मौसमविद् कँडेलले भन्नुभयो “दिनभर लगातार वर्षा भने हुँदैन, उच्च पहाडी र हिमाली क्षेत्रको तुलनामा तराईमा कम बदली हुन्छ ।” भोलीसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र तुरुन्त घाम लाग्ने खालको नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस भएको छ ।  विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २५ माघ २०७५ शुक्रबार ००:००  १ : ५६ बजे