मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल विद्यार्थीसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले आगामी फागुन १४ गते स्ववियू निर्वाचन हुनुपर्ने बताउनु भएको छ । स्ववियू देशभरका विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्ने साझा मञ्च भएकाले पूर्वनिर्धारित समयमा निर्वाचन हुनुपर्ने उहाँको धारणा छ । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग आज विहान कुराकानी गर्दै पोख्रेलले मिनी पार्लामेन्टको रुपमा रहेको स्ववियू निर्वाचनको लागि आफूहरुको तयारी भइरहेको भए पनि सरकारले उपयुक्त बातावरण सिर्जना गर्न नसकेको बताउनुभयो । विद्यार्थीको हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा आफ्ना कार्यकर्तालाई अनाहकमा गिरफ्तार गरेको भन्दै उनीहरुको रिहाई नभएसम्म स्ववियूको निर्वाचनको लागि बातावरण बन्न नसक्ने बताउनुभयो ।
आफ्ना विद्यार्थी नेताहरुको रिहाई नगरे यसका विरुद्ध आफूहरुले झन् आन्दोलन चर्काउने उहाँले चेतावनी दिनु भयो । नेविसंघले पराजित हुने डरले स्ववियू निर्वाचन हुन नदिने बखेडा झिकेको सत्तासिन दलका संगठनले लगाएका छन् नि ? भन्ने सवालमा नेकपाका विद्यार्थिसंगठनमा पदीय बाँडफाँड, टिकट वितरण लगायतमा तीव्र विवाद रहेका कारण उनीहरुले नै स्ववियू चुनाव हुन नदिने बातावरण सिर्जना गरेको उहाँको प्रष्टिकरण छ । दुई विद्यार्थीसंगठन मिले पनि निर्वाचन भए आफूहरुले सजिलै चुनाव जित्ने उहाँले दाबी गर्दै भन्नुभयो–‘यसको लागि देशभर वातावरण तय भइसकेको छ ।’
फरक प्रसंगमा वर्तमान सरकार तानाशाह र अधिनायकबाद लाद्न उद्धत भएकाले यसको आफूहरुले डटेर विरोध गर्ने पोख्रेलले बताउनु भयो । निर्मला हत्याकाण्ड, वाइड बडी खरिद प्रकरण लगायत, डा गोविन्द केसीको आन्दोलन, सुनकाण्ड, सिण्डिकेट अन्त्यजस्ता विषयमा सरकार चुकेकोले अब ऊ जनताबाट नराम्रारी पखालिने पोख्रेलको भनाई छ । यी घटनाले बामपन्थीहरुको सरकारको चरित्र विश्व समुदायमाझ राम्रोसंग छर्लङग भएको बताउनु भयो । पार्टी गुटवन्दीमा लागेको स्विकार गर्दै नेता पोख्रेलले पार्टीले अब तुरुन्त गुटवन्दी अन्त्य गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
प्रतिक्रिया