११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसमः शनिबार सम्म बर्षा, आइतबारबाट मात्रै सुधार आउने



काठमाडौँ ।
काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भन्नुभयो, “आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना छ ।”
पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो । महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
यस्तै, शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यसैगरी, शनिवार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली हुनुका साथै मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शनिवार राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशको पश्चिमी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी भूभागको उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुनुका साथै हिम पहिरोसमेत जान सक्ने भएकाले उक्त भूभागमा सतर्क रहन तथा ‘ट्रेकिङ’ मा नजान समेत मौसमविद् सुवेदीले सुझाव दिनुभयो ।

प्रकाशित मिति : २५ माघ २०७५ शुक्रबार ००:००  १ : २४ बजे