बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बसेको छ । यसअघि मंगलवारको बैठक प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसले अवरुद्ध गरेपनि आजको बैठक भने कुनै अवरोध बिना नै बसेर सकिएको छ ।
बैठकमा प्रदेश सभाका सदस्यहरुले यसअघिका बैठकमा उठाएका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेशको शान्तिसुरक्षा मजबुद रहेको बताउनुभयो ।
शान्तिसुरक्षासम्बन्धी विषय प्रदेशसभाका सदस्यहरुले बैठकमा उठाएपछि जवाफ दिँदै उहाँले प्रदेशको सुरक्षामा सरकार गम्भीर रहेको धारणा राख्नुभयो ।
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा छलफलका लागि पेश गर्नुभयो ।
यसअघि आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले मंगलवार कार्यसुचिमा नभएको बिषयमा प्रदेश सभा बैठक अवरुद्ध गरेर प्रतिपक्ष गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो ।
बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सहमतिमा अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । मङ्गलबार बसेको बैठकमा प्रदेश राजधानीको टुङ्गो लगाउन बनेको विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्लाबाट सदस्य थप गर्ने चलखेल भएको भन्दै प्रतिपक्षी दल काङ्ग्रेसका सदस्यहरुले बैठकमा विरोध गरेका थिए ।
२४ माघ २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया