मायादेवी अनलाइन, कपिलवस्तु ।
नेत्र विक्रम चन्द (विप्लव) निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव प्रकाश शाहीले आजको शैक्षिक हड्ताल शान्तिपूर्ण हुने बताउनु भएको छ । आफ्नो संगठनका कोषाध्यक्ष नरेन्द्र बि.क को रिहाइको माग गर्दै गरिएको शैक्षिक हड्तालको क्रममा आज देशभर कहिँ पनि ढुंगामुडा, तोडफोड र आगजनी नहुने उहाँले बताउनुभयो । रेडियो मायादेवीको कार्यक्रम समय संवाद संग आज विहान कुरा गर्दै महासचिव शाहीले कार्यकर्तालाई पनि शान्तिपूर्ण रुपमा हड्तालमा सहभागी हुन भनिएकाले तोडफोड र आगजनीजस्ता अप्रिय घटना नहुने दावी गर्नुभयो ।
विहीबार साँझ ५ बजे बन्द खुल्ने भएकाले एक दिनको लागि विद्यालय बन्द गरेर आफूहरुलाई सहयोग गर्न उहाँको आग्रह छ । वर्तमान केपी ओली सरकारले दुइतिहाइको नाममा शान्तिपुर्ण तरिकाले बोल्न पाउने, भेला गर्न पाउने र बिरोध गर्न पाउने जनताको मौलिक अधिकारमाथि प्रतिबन्ध लगाएर अधिनायकबाद लाद्न खोजेकोले बन्दमा उत्रनु परेको उहाँको बताउनुभयो । आफ्ना कार्यकर्ता रिहाईको आवाज सुन्न नसक्ने गरी सरकार बैरो भएको भन्दै पक्राउ परेका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकलाई तुरुन्त छाड्न आग्रह गर्दै उहाँले भन्नुभयो– ‘आफ्नो संगठन र विद्यार्थीको मागलाई दबाउन खोजिए नेपाल बन्दजस्ता कदममा अघि बढ्न बाध्य हुनेछौँ, सरकार छ भने हाम्रा मागहरु सुनोस् ।’
वर्तमान सरकार दलाल पुजीबादीहरुको चंगुलमा र भ्रष्टाचारीहरुको घेरामा नराम्ररी जकडिएकाले नेपाली जनताको लागि जनवाद धेरै टाढाको विषय भएको बताउँदै उहाँले यसको लागि छुट्टै खालको संघर्ष आवश्यक भएको रेडियो मायादेवीलाई बताउनुभयो । फरक प्रसंगमा उहाँले पूर्ण समानुपातिक तवरले स्ववियू निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने आफ्नो संगठनको धारणा रहेको बताउनु भएको छ ।
तपाइको पार्टीले फेरि पनि चन्दा आतंक मच्चाएर व्यापारी र उद्योग व्यावसायीलाई सास्ती दिन थाल्यो नि ? भन्ने सवालमा उहाँले आफ्नो पार्टीले कहिल्यै पनि चन्दा आतंक सिर्जना गरेर उद्योगी व्यावसायीलाई दुख नदिएको बताउनुभयो । यदि कोही कसैलाई त्यस्तो लाग्छ भने तथ्य पुष्टि गर्न उहाँले चुनौति दिनु भएको छ । वर्तमान नेकपा सरकारले पनि मुलुकमा विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले त्यसको लागि निरन्त संघर्ष गरिरेको पनि उहाँले बताउनुभयो । पछिल्लो पार्टीका महासचिव समय विप्लव र प्रवक्ता प्रकाण्डबीच पनि खटपट रहेको समाचार आइरहेको बेला उहाँले त्यस्तो नभएको भन्दै केही मिडियाहरुले हौवा फिजाउन र आफ्नो पब्लिसिटीको लागि त्यस्तो गरेको प्रष्टाउनुभयो ।
२४ माघ २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया