११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

खेलकुदको क्षेत्रमा पनि नगरलाई नमुना बनाउँछौंः नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले खेलकुदको क्षेत्रमा पनि नगरलाई नमुना बनाउने बताउनु भएको छ । नगरपालिकाको आयोजनामा बुधबारदेखि सुरु भएको दोश्रो मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने क्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिका भित्र खेलकुदमा धेरै खेलप्रतिभाहरु लुकेर रहेको बताउनुभयो ।
खेलकुदको माध्यमबाट राष्ट्रलाई विश्वमा चिनाउन सकिने भन्दै स्थानीय स्तरबाट प्रतिभा खोज्नको लागि विगतको बर्षमा जस्तै यस वर्ष पनि मेयर कपलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले आफ्नो कार्यकाल भित्र नगरलाई जिल्लाकै नमुना गराउने क्रममा खेलकुदलाई पनि निकै महत्वका साथ हेरेको बताउनुभयो । नगरका ४४ नीजि तथा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको उहाँले सिट्टी बजाई खेल सामग्रीहरु खेल संयोजकहरुलाई दिएर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले खेलकुद राष्ट्रको गहना भएकाले हरेक विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । अनुशासन पूर्वक खेलिएका खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकास भई असल बानी निर्माण हुने भएकाले विद्यार्थीहरुलाई सक्रियता पूर्वक खेलकुदमा भाग लिन आग्रह गर्नुभयो ।
वडा नम्बर १ का वडाध्यक्ष तेज बहादुर वस्नेत, गौतम बुद्ध माविका रामप्रसाद अर्याल लगायतले बोल्दै खेलकुदको महत्वको बारेमा बोल्नु भएको थियो । यस्तै उद्घाटन सत्रमा शाखा अधिकृत केशवराज भट्टराई, विभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
खेलकुदको उद्घाटनपूर्व बिभिन्न विद्यालयका रेडक्रसमा आवद्ध विद्यार्थीहरुले मार्चपास गरेका थिए । शुक्रबारसम्म हुने मेयर कपमा बुधबार प्राथमिक तहका छात्रछात्रा बीच १ सय, २ सय र ४ सय मिटरको दौड सम्पन्न भएको छ भने विहीबार र शुक्रबार छात्रछात्रा भलिबल, बिभिन्न किसिमका दौड, हाइजम्प, लङजम्प, ज्याब्लिङ थ्रो लगायतका प्रतियोगिताहरु हुने छन् ।

प्रकाशित मिति : २३ माघ २०७५ बुधबार ००:००  २ : ५३ बजे