११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने महिला पक्राउ



एजेन्सी ।
महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।उनीहरुलाई प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार गिरफ्तार गरेको हो ।जनवरी ३० तारिखका दिन गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेकी थिइन् । उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहून भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ ।हिन्दू दक्षिणपन्थी समूहले महात्मा गान्धीको स्मृति दिवसमा नाथुराम गोड्सेको सम्मानस्वरुप सौर्य दिवसका रुपमा मनाउँदै आएको छ । हिन्दू महासभा सन् १९१५ मा मदन मोहन मालवीयले स्थापना गरेको संस्था हो ।हिन्दू महासभाले गान्धीका हत्यारा नाथुराम गोड्सेको जयजकार गरेको यो पहिलो पटक भने होइन । महासभाका एक नेता स्वामि प्रणवानन्दले सन् २०१५ मा कर्नाटकको ६ वटा जिल्लामा नाथुराम गोड्सेको प्रतिमा बनाउने घोषणा गरेका थिए । उनले गान्धीको हत्या ‘राष्ट्रवादी’ भएको र हिन्दू राष्ट्रवादी विनायक दामोदर सवर्करको आर्शीवादसमेत भएको बताएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७५ बुधबार ००:००  ६ : ४७ बजे