एजेन्सी ।
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । सेमिफाइनलमा आज राति चिर प्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोना प्रतिस्पर्धी रहेकाले विश्वभरका फुटबल प्रेमीको ध्यान खिचिएको छ । दुई लेगमा हुने सेमिफाइनल अन्तर्गत बार्सिलोनाको मैदान क्याम्प नाउमा मध्य रातमा दुई टोली जित हासिल गर्ने लक्ष्यका साथ मैद्यान उत्रने छन् । भ्यालेन्सियासँगको खेलको क्रममा दुई गोल गरेर चोटग्रस्त बनेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आजको एल क्लासिकोमा खेल्न सक्ने वा नसक्ने यकिन भएको छैन ।
बार्सिलोनाले एल क्लासिकोका लागि तय गरेको टिममा मेस्सीको नाम समावेश छ । तर मेस्सी मैदानमा गएर खेल्ने वा नखेल्ने भने अन्तिम समयमा मात्रै निर्णय हुनेछ । मेस्सीको दायाँ थाइमा चोट लागेको छ । आजको खेलमा बार्सिलोनाका युवा खेलाडी उसमान डेम्बेले पनि चोटका कारण मैदानमा हुने छैनन् ।
अबको २५ दिनमा तीनवटा एल क्लासिको हुँदैछन् र बुधबारको एल क्लासिको त्यसमध्येको पहिलो हुनेछ । यसपछि दोस्रो लेगमा फेब्रुअरी २७ मा रियलको मैदानमा खेल हुनेछ । यसैगरी ला लिगा अन्तर्गत आउँदो मार्च २ मा बार्सिलोना र रियल मड्रिडबिच खेल हुने तय छ ।
प्रतिक्रिया