बुटवल ।
प्रदेश ५ प्रदेश सभाले स्थापना दिवस मनाएको छ । प्रदेश सभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी वर्षगाँठ मनाएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश ५ प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशलाई संस्थागत गर्दै संघीयता कार्यान्वयन गर्न प्रदेश सभाको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले प्रदेश सभा र सरकारले जनताका चासो र सरोकारका विषयलाई सम्बोधन गर्दै प्रदेशमा सञ्चालित आयोजनाहरुलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा सञ्चालनको अनुभव र दक्ष कर्मचारी अभावमा पनि प्रदेश सभाले संघीयता संस्थागत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रदेश राजधानीको विषयमा तर्क गर्दै उनले प्रदेशको राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा छलफल र बहस जरुरी रहेको बताए ।
प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले भौतिक संरचना र प्रशासनिक जनशक्तिको अभावका बीचमा पनि प्रदेश सभाले संघीयतालाई संस्थागत गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
प्रदेश सभालाई मर्या्दित, व्यवस्थित र साझा थलोको रुपमा स्थापित गर्नका लागि प्रयत्न गरिरहेको भन्दै उनले त्यसमा सांसद् र सरकारको पनि साथ जरुरी रहेको बताए ।
उपसभामुख कृष्णी थारुले प्रदेश सभा समावेशी, समन्यायिक र समान सहभागितात्मक बनाउँदै कानुन निर्माणमा अघि बढ्दै गरेको बताइन् ।
प्रदेश सभा सचिवालयले उत्कृष्ट काम गरेको भन्दै कर्मचारीहरु अधिकृत मनोज पाण्डे, नायब सुब्बा दिवाकर पन्थी, मर्यादापालक ओमप्रकाश डाँगी, कार्यालय सहयोगी कल्पना विष्टलाई पुरस्कृत गरेको थियो । सोही अवसरमा प्रदेश सभा सचिवालयले संसदीय मामिला पत्रकार समाज प्रदेश ५ को संयोजनमा तयार पारेको प्रदेश सभा दर्पण पनि सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया