मायादेवी अनलाइन, वाणगंगा ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा १ वैरियामा एक युवकलाई ठक्कर दिएको गाडी इलाका प्रहरी कार्यालय पिपराले अझैसम्म पत्ता लगाउन सकेको छैन । शुक्रबार साँझ ठक्कर दिएको गाडीको प्रहरीले पहिचान गर्न सकेको छैन । दुर्घटना भएको दुई दिन वित्दा समेत इलाका प्रहरी कार्यालय पिपराका प्रमुख चन्द्र बहादुर केसीले सिसिटिभि क्यामेरा हेर्दा गाडीको पहिचान हुन नसेकेको बताए ।
दुर्घटनाका कारण केही बेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत भएको थियो । ठक्कर दिने गाडीलाई प्रहरीले तत्काल पत्ता लगाउने सहमतीमा बाटो खुलेको स्थानीयले बताए । बाटोमा पैदल हिड्दै गर्दा गाडीको ठक्करबाट बैरिया श्रीनगर डाँडाका अन्दाजी ५० वर्षीय कृष्ण प्रसाद गौतम गम्भिर घाइते भएका हुन् । उनको ढाड, टाउको, नाक र घुँडामा गम्भिर चोट लागेको अस्पतालले जनाएको ।
सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि घाइतेलाई भरतपुर रिफर गरिएको छ । आर्थिक अवस्था कमजोर भएका घाइते गौतम स्थानीय एक उद्योगमा काम गर्दै आएका थिए । उनको औषधी उपचारमा आर्थिक समस्या परेको पीडितका आफन्तले बताएका छन् ।
ठक्कर दिने गाडी पत्ता नलाग्दा घाइतेको उपचार गाउँले गर्नुपर्ने जवाफ प्रहरीले दिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका थिए । स्थानीयका अनुसार स्कोरपियो जीप र नम्बर प्लेट सेतो भएकाले सरकारी भएको हुन सक्ने आशंका गरेका छन् ।
दुई किलो मिटर पर पिपरामा रहेको ट्राफिक र इलाका प्रहरी कार्यालयले ठक्कर दिने गाडीको पहिचान गर्न नसक्नुलाई घटना शंकास्पद भएको एसआर घिमिरेले बताए ।
प्रतिक्रिया