एजेन्सी ।
आउँदो विश्वकप फुटबल आयोजक कतारले एसियन कप फुटबलको उपाधि जितेको छ । चारपटकको विजेता जापानलाई फाइनलमा ३–१ ले हराउँदै कतारले पहिलोपटक एसियन कप फुटबलको उपाधि जितेको हो ।
संयुक्त अरब इमिरेट्समा शुक्रबार बेलुका भएको फाइनल खेलमा कतारलाई जिताउन अलमोइज अली, अब्दुलअजिज हेतन र अक्राम अफिफले गोल गरे । जापानका लागि मिनामिनोले एक गोल फर्काए ।
१२ औँ मिनेटमा अलमोइज अलीले गोल गर्दै कतारलाई सुरुवाति अग्रता दिलाए । २७ औँ मिनेटमा हेतनले गोल गरेपछि कतारले पहिलो हाफमा २–० को अग्रता लियो । ६९ औँ मिनेटमा मिनामिनोले जापानका लागि एक गोल फर्काए ।
भिएआर मार्फत पाएको पेनाल्टीको अवसरलाई अफिफले सदुपयोग गरे । उनले ८३ औँ मिनेटमा गोल गरेपछि कतारले ३–१ को जित निश्चित गरेको हो । यो जितले कतारलाई पहिलोपटक एसिया कपको उपाधि दिलायो, त्यो पनि एसियाको महारथी जापानलाई हराएर ।
कतारका अलमोइज अलीले एसियन कपमा कीर्तिमान बनाएका छन् । उनले एसियन कपको इतिहासमा एउटै प्रतियोगितामा सर्वा्धिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।
सुडानमा जन्मिएर सानैमा कतार गएका अलीले फाइनलमा कतारका लागि १२ औँ मिनेटमा गरेको गोल उनको यो प्रतियोगिताको यस संस्करणमा नवौँ गोल थियो । यसरी एसियन कपमा एउटै संस्करणको प्रतिस्पर्धामा उनले धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
२२ वर्षका उनले गोल्डेन बुट जिते । उनले इरानका लेजेण्ड अली दाईले बनाएको कीर्तिमान भंग गरेका हुन् । अली दाईले सन् १९९६ मा अर्थात २३ वर्षअघि एसियन कपको एउटै संस्करणमा ८ गोल गरेर बनाएको कीर्तिमान अलीले भंग गरेका हुन् ।
प्रतिक्रिया