काठमाडौँ ।
देशभरको मौसम सामान्यतया बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पूर्वदेखि पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
काठमाडौँ उपत्यका सहितका क्षेत्रमा बिहीबार रातिदेखि नै मौसम बदली भएको छ । देशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले बताइन् ।
काठमाडौँ उपत्यकामा भने बदली भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको जनाइएको छ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
बेलुकातिर मध्य तथा तराई क्षेत्रको मौसम खुल्दै जाने र पश्चिमी वायुको प्रभाव कम हुने भएकाले शनिबार मौसम सफा रहने उनले बताइन् । बिहान ६.८ डिग्री मापन भएको काठमाडौँको न्यूनतम तापक्रम दिउँसो बढेर १८ देखि २० डिग्री पुग्ने अनुमान छ ।
प्रतिक्रिया