अर्घाखाँची ।
सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै छन् । तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन । हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ । पुग्न चार घण्टा। फर्किन चार घण्टा । त्यो पनि जंगलको बाटो, एक्लै ।
अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके। यहाँ स्कुल छैन । चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय। त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन । आजको अन्नपूर्ण पोस्ट्मा अर्घाखाँचीबाट प्रेमनारायण आचार्यले समाचार लेखेका छन ।
उनी उठ्ने बित्तिकै गाँस टिपेर हिँड्छन् । स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन् । फर्किंदा रात परिसकेको हुन्छ । झुल्दै गाँस टिपेर निदाउँछन् । जंगलको बाटोमा उनलाई स्कुल र्पुयाउने पनि कोही छैन । न त कोही साथी नै छन्। बुबा विदेशमा छन् । आमा दोस्रो विवाह गरेर गइन् । सुन्दर हजुरआमासँग बस्छन् ।
जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन् । केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ । काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन् । तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन ।
उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ। पुग्दानपुग्दै भोक लाग्छ। विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ । तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन् ।
साविकको सिद्धारा गाविस हालको शीतगंगा ९ र १० नम्बर वडा भएको छ। यी दुई वडामा २७ वटा स्कुल छन् । ठूलो र विकट भएका कारण त्यति धेरै स्कुल भए पनि विद्यार्थीहरू चारपाँच घण्टा हिँड्न बाध्य छन् ।
भौगोलिक रूपमा शीतगंगा नगरपालिका नेपालकै ठूलो नगरपालिका हो । यहाँका सिद्धारा, सिमलपानीजस्ता क्षेत्रमा आधारभूत सेवासुविधाको अभाव छ । बस्ती पनि जंगलको बीचबीचमा छरिएका छन् । केटाकेटीको स्कुलमा पहुँच छैन । साना केटाकेटीका लागि भएका स्कुल जान सम्भव नभएको जनजागृति मावि व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले बताउँछन् । यो समस्या समाधानका लागि बस्ती एकीकृत गर्नुको विकल्प नभएको उनको भनाइ छ । सुपारे, ओखटे, झिमझिमे दहजस्ता ठाउँबाट बालबालिका धाउन नसक्ने उनले बताए । ‘नगरपालिकाभित्रै यस्तो दयनीय अवस्था छ,’ उनले भने ।
त्यसैले अधिकांश विद्यार्थी स्कुल नै आउँदैनन् । भर्ना हुन, परीक्षा दिन, छात्रवृत्ति र किताब लिन आउँछन् । अरु बेला घरै बस्छन् । त्यसैले उनीहरूको पढाइ पनि निकै कमजोर छ । स्वास्थ्य सेवाको पनि उस्तै अवस्था छ । सामान्य रोगको उपचार पाउनबाट समेत यहाँका बासिन्दा वञ्चित छन् । रुघाखोकी, झाडापखाला र ज्वरोको औषधी पनि बिरामीले पाउँदैनन् । औषधी पसल छैन । सुत्केरीहरू पीडा खप्न बाध्य छन् । कतिपयले ज्यानै गुमाइरहेका छन् । सूचना, सञ्चार तथा यातायातको पहुँच छैन । स्वास्थ्य संस्था जान नसक्ने भएपछि स्थानीय बाध्य भएर घरेलु उपचारतिर लाग्छन् ।
‘साँझ, बिहान र राति दुर्घटनामा परियो भने तत्काल उपचार पाउन सकिँदैन। नजिक स्वास्थ्य चौकी छैन,’ शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी भन्छन, ‘भूगोलले ठगेको छ । सबैभन्दा पहिले सबैतिर यातायात र्पुयाउनेगरी योजना बनाउँदै छु । यातायातका कारण कसैले पनि उपचार गर्नबाट वञ्चित नहुनेगरी काम गर्दैछु ।’
१८ माघ २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया