२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कृष्णनगरको विकासमा मेयर शाह तात्दै, अतिक्रमण गरी बनाइएका संरचना हटाइयो



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका संरचनालाई हटाउन लागेको छ । नगरपालिकालाई व्यवस्थित र सुन्दर बनाउनका लागि अतिक्रमण हटाउन सुरु गरिएको हो । विगत एक महिना देखि अतिक्रमण गरी बनाइएका संरचना हटाउन भन्दा पनि सम्बन्धित पक्षले अटेरी गरेपछि विहीबार देखि नगरपालिकाले आफै अतिक्रमण हटाउन सुरु गरेको नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
पटक-पटक जग्गा अतिक्रमण हटाउन आग्रह गरेपनि वास्ता नगरे पछि बाध्य भएर विहीबार आफै हटाएको उहाँले बताउनुभयो । विभिन्न राजनीतिक दलको संरक्षणमा अतिक्रमण जग्गा भोगचलन हुँदै आएको भन्दै यसलाई आफुले चुनौती लिएर हटाएको नगर प्रमुख शाहले मायादेवी अनलाइनलाई बताउनुभयो ।
नेपाल भारत सिमागेटमा अवस्थित प्रहरी चौकी, भन्सार कार्यालय र भन्सार एजेन्टहरुले जग्गा अतिक्रमण गरी बसेका थिए । यी सबैका संरचना विहीबार भत्काइएको हो । भन्सार कार्यालयको वाल, प्रहरी चौकीको चौपारी र भन्सार एजेन्ट श्याम मिश्रले प्रयोग गर्दै आएको भवनलाई भत्काइएको नगरपालिकाले जनाएको छ ।
मूल नाका कब्जा गरि बनाइएको संरचना हटाइए पछि सिमानाका फराकिलो भएको छ । कृष्णनगरको विकासमा आफु दत्तचित्त भएर लागेको भन्दै यो कार्यमा सघाउन नगर प्रमुख शाहले सबैलाई आग्रह गर्नुभएको छ । नगरपालिकाको विकास राम्रो भए सिंगो नगर राम्रो हुने भन्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृष्णनगर नगरपालिका सबै हिसाबले धनि भएपनि सोचेजस्तो विकास नभएको बताउँदै उहाले अब यस्तो नहुने बताउनुभयो । आफु सिंगो नगरको विकास गर्नका लागि मेयर पदमा निर्वाचित भएको भन्दै आफुले गरेको काममा सबैले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  २ : ०९ बजे