२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बाणगंगा माविको खेल सप्ताह सकियो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद अपरिहार्य भएको बताउनु भएको छ । विद्यालयको सिमित घेराभित्र गरिएको शिक्षण सिकाई क्रियाकलापले मात्र एउटा व्यक्ति पूर्ण हुन नसक्ने भन्दै उपप्रमुख अर्यालले त्यसको लागि खेलकुद नभई नहुने बताउनुभयो ।
शहीद दिवसको अवसर पारी बाणगंगा मावि गजेहडाले आयोजना गरेको खेल सप्ताह तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै अर्यालले सबै विद्यालयले खेलकुदका गतिविधिलाई जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय शिक्षामा पनि ब्यापक परिवर्तन आएको भन्दै अब विद्यालयले बालबालिकालाई सिमित घेरामा सिमित गर्न नहुने उहाँको भनाई छ ।
यसैगरी कार्यक्रममा बाणगंगाा नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले विद्यार्थीको सर्वाङ्गिण विकासको लागि पढाईसंगै खेलकुद आवश्यक भएको बताउनुभयो । श्रोत व्यक्ति कविराज गौतमले खेलकुदमा राम्रो हुने व्यक्ति हरेक क्षेत्रमा अब्बल हुने भन्दै विद्यार्थीलाई सक्रिय रुपमा खेलकुदमा सहभागी हुनपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानध्यापक राम प्रसाद भण्डारीले माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन भएको खेलकुदका गतिविधिबाट विद्यार्थी लाान्वित भएको बताउँदै आगामी दिनमा पनि विद्यालयले यस्ता कार्यक्रम गरिरहने बताउनुभयो ।
कार्यक्रमको अवसरमा १ हप्तासम्म कक्षागत रुपमा भएका भलिबल, कपर्दी, २ सय र ४ सय मिटरको एथलेटिक्स, आदि खेलकुदमा प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, मेडल र अविरले पुरस्कृत गरिएको थियो ।
त्यस्तै गत बर्षको राष्ट्रपति रनिङ शिल्डमा द्धितीय स्थान हासिल गरेका विद्यार्थीलाई प्रमुख अतिथि अर्याल, कार्यक्रमका सभापति, बाणगंगा नगर वडा नम्बर ४ का अध्यक्ष गणेश क्षत्री, प्रधानाध्यापक भण्डारी, सहायक प्रधानाध्यापक ज्ञानराज अर्याल, अतिरिक्त क्रियाकलाप प्रमुख मोतीलाल शाहीले सम्मानित गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक कुमार थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १२ : ४० बजे