३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सडक सञ्जालबाट सिंगो नगरलाई जोड्दै नगर प्रमुख केशव कुमार श्रेष्ठ !



दीपा महत, बुद्धभूमि ।

चुनावी ताका विभिन्न दलका उम्मेद्वारबाट जनताले निकै मिठा मिठा योजना सुने । दुई दशक देखि जनप्रतिनिधि विहिन भएको मुलुकमा स्थानीय तहको निर्वाचन हुँदा जनता पनि निकै उत्साहित थिए । जनप्रतिनिधि आएपछि आफ्नो गाउँ ठाउँको विकास राम्रो होला भन्ने अपेक्षा जनता माझ थियो । त्यहि अपेक्षामा रहेका जनताले चुनाव ताका उम्मेद्वारबाट मिठा मिठा योजना सुनेका हुन । चुनावको बेला अधिकांश उम्मेद्वारले रोजगार सिर्जना, चक्रपथ निर्माण, फ्रि वाईफाई जोन स्थापना लगायतका महत्वकांक्षी योजना सुनाएका थिए । चुनावको बेला गरेका बाचा कतिपय जनप्रतिनिधिले भुलेको आरोप खेपि रहेको बेला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले भने कार्यन्वयन गर्न थालेको छ । बुद्धभूमिका नगर प्रमुख केशव कुमार श्रेष्ठले चुनावको बेला गरेको बुद्धभूमि चक्रपथको योजना सुरु गर्न थाल्नुभएको हो । निकै महत्वाकांक्षी र दीर्घकालिन योजना रहेपनि नगर प्रमुख श्रेष्ठले यसको सुरुवात गर्नुभएको हो । जस अन्तरर्गत अहिले बुद्धभूमि चक्रपथको डिपिआर बन्दै छ । सहरी विकास मन्त्रालयले अहिले चक्रपथको डिपिआर तयार पार्न लागेको छ । नगरपालिकाको समन्वयमा मन्त्रालयले चक्रपथको डिपिआर बनाउन लागेको हो । यसै आवमा डिपिआर सकेर काम थाल्ने नगरपालिकाको तयारी छ । ‘बुद्धभूमि चक्रपथ निर्माणका लागि डिपिआर बन्दै छ नगर प्रमुख श्रेष्ठले आर्थिक खबरलाई भन्नुभयो, “यहि आवमा डिपिआर सकेर काम अगाडि बढाउँने सोचमा छौं ।” दीर्घकालीन योजना रहेको कारण नगरपालिकाको बजेटले मात्र यो काम पुरा हुँदैन । त्यसको लागि केन्द्र सरकार र प्रदेश सरकार संग पहल भैरहेको नगर प्रमुख श्रेष्ठको तयारी छ । केन्द्र र प्रदेश सरकारको सहयोग संगै नगरपालिकाले पनि यसमा सहकार्य गरी चाडै चक्रपथ निर्माण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

बुद्धभूमि चक्रपथ झण्डै ८० किलो मिटरको दुरीमा हुने छ । नगरका सबै वडा जोड्ने गरी चक्रपथ निर्माण गरिने छ । नगरको वडा नं. १ पथ्थरकोट देखि सुरु भएको चक्रपथ विरपुर, चङ्घाट हुँदै वडा नं. ३ को रनगाई, टाकु, बक्टापुर, धमौली जोडिनेछ । यसैगरी धमौली हुँदै वडा नं. ९ को अस्नारा, वकलीपुर, चौवन्नपुरमा आएर चक्रपथ महेन्द्र राजमार्गमा जोड्ने योजना छ । यहाँ हुँदै चक्रपथ वडा नं. ५ को हरिहरपुर, पचगाई, चरिहवा, दरखसवा, वडा नं. ६ को नयाँ नगर, मौवा, कहडौलिया, वडा नं. १० को धनकौली, चैत्रदेइ, बक्डरिया हुँदै गोरुसिंगे स्थित महेन्द्र राजमार्गमा जोडिने छ भने पुरेना, पचगैया, भेलाई, टिक्कर हुँदै गोरुसिंगे–सन्धिखर्क सडकखण्ड हुँदै पथ्थरकोट पुगिने छ ।

चक्रपथलाई नगरको बहुबर्षे योजना अन्तर्रगत राखे पनि डिपिआर बने लगत्तै दाता खोज्ने नगरको योजना छ । १२ मिटर चौडाई रहने चक्रपथ दुई लेनको बन्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सिंगो नगरपालिकालाई यातायातले जोड्ने उद्धेश्यले चक्रपथको योजना ल्याइएको उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यको हिसाबले जिल्लाकै उग्रपक्तिमा रहेको बुद्धभूमि सडक सञ्जालमा पनि अगाडि रहेको छ । कृषि योग्य जमिन प्रयाप्त रहेको यस नगरपालिकामा कृषि क्षेत्र नै प्रमुख आयस्रोतको माध्यम हो । नगरको वडा नं. १० धनकौली तरकारी पकेट क्षेत्र हो । यहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्रगत तरकारी जोन स्थापना भएको छ । यो संगै नगरका अन्य क्षेत्रमा कृषिको राम्रो सम्भावना छ ।

नगरभित्र उत्पादित कृषियोग्य बस्तुलाई बजार सम्म लैजानका लागि सडक सञ्जाल महत्वपूर्ण मानिन्छ । व्यवसायिक रुपमा कृषि पेशा अगाल्दै आएका किसानलाई चक्रपथ निर्माणले महत्वपूर्ण सघाउन पुग्ने नगरपालिकाको अपेक्षा छ । “कृषिको राम्रो सम्भावना  बोकेको नगरपालिका भएकोले सडक सञ्जालले सिंगो नगर जोडिनु पर्छ प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले भन्नुभयो, “त्यसैको सोच अनुसार बुद्धभूमि चक्रपथको परिकल्पना आएको हो ।” सडक सञ्जालले सिंगो नगरलाई जोड्न पनि चक्रपथ आवश्यक रहेको पाध्याले बताउनुभयो । ‘साना–साना गाउँका बाटा बनेकै छन, उहाँले भन्नुभयो, “अब बन्ने बाटा आर्थिक, सामाजिक रुपमा पनि महत्वपूर्ण हुनु पर्छ ।” देश आर्थिक समृद्धिको दिशामा अगाडि बढेकोले यस नगरपालिका पनि उद्योगीहरुको रोजाई पर्न सक्छ, ‘त्यसैले सडक सञ्जाललाई जोड्न सक्यौं भने सिंगो नगरलाई फाइदा हुन्छ उहाँले भन्नुभयो ।’

 

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  ३ : ०६ बजे