३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

होला त स्ववियु निर्वाचन ? कपिलवस्तुमा सरगर्मी सुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको लागि कपिलवस्तुमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले तयारी सुरु गरेका छन । जिल्लामा सक्रिय पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने माग सहित तयारी सुरु गरेका हुन । छिट्टै जिल्लामा रहेका क्याम्पसहरुमा सक्रियता बढाउने निधो गरेका संगठनले त्यसको लागि कार्यदल बनाएका छन ।
बुधबार नेकपा पार्टी कार्यालय तौलिहवामा बसेको विशेष भेलाले अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका टुकलाल गैरेको संयोजकत्वमा स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा बाबुराम अर्याल र शिव बन्जाडे रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सागर घिमिरे, उज्ज्वल अधिकारी, जीएन पाण्डे, दयाराम पौडेल, इन्दिरा पौडेल, सन्दीप आचार्य, अन्जित खनाल शिशिर लामिछाने, मोहन शर्मा र प्रदीप खनाल रहनुभएको छ ।
कार्यक्रम नेकपाका कपिलवस्तु जिल्लाका प्रस्तावित अध्यक्ष झबिलाल पोख्रेलको अध्यक्षता र पार्टी सचिव विष्णु शाहको संचालनमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा पार्टी केन्द्रीय सदस्य बिमला घिमिरे प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने नेकपा प्रदेश तहका नेताहरुको पनि उपस्थिति थियो ।
यता स्ववियु निर्वाचनबारे विपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले स्पष्ट धारणा पेश गर्न सकेको छैन । विद्यार्थी संगठन भित्र रहेको दुई गुटका कारण नेविसंघले स्पष्ट धारणा पेश गर्न नसकेको हो । संस्थापन पक्षले अहिलेकै अवस्थामा स्ववियु निर्वाचन गर्न सम्भव नभएको बताएको छ भने अर्को पक्षले तोकिएको समयमा निर्वाचन गर्नुपर्ने बताएको छ । यस्तै अखिल छैठौ लगायतका अन्य विद्यार्थी संगठनले पनि पूर्व निर्धारित समयमा स्ववियु निर्वाचन हुनुपर्ने बताएका छन ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  २ : ५५ बजे