३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

कुखुराको दानाको मूल्य प्रतिबोरा १५० रुपैयाँ बढ्यो



चितवन ।
कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च वृद्धि भएको छ। दानाको मूल्य प्रतिबोरा १५० रुपैयाँ बढेको दाना उद्योग संघले जनाएको छ। दाना उद्योगीहरुको भेलाले दानको मूल्य आइतबारदेखि लागू हुने गरी बढाएको संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले जानकारी दिए। अध्यक्ष पुरीका अनुसार पछिल्लो तीन महिनामा तीन पटक गरी प्रतिबोरा ३५० रुपैयाँले वृद्धि भएको छ। दानाको मूल्य मंसिरमा ७५, पुसमा १२५ र माघमा प्रतिबोरा १५० रुपैयाँ बढाइएको छ। दाना बनाउन प्रयोग हुने कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य बढेकाले दानाको मूल्य पनि बढाइएको उद्योगीको भनाइ छ। पछिल्लो पटक मकैको मूल्य प्रतिकेजी १४ र भटमास १० रुपैयाँ बढेको छ। मूल्य बढेसँगै दाना प्रतिवोरा तीन हजार १२५ रुपैयाँ पुगेको छ। दानाका लागि सबैभन्दा धेरै प्रयोग हुने मकै र भटमासको पिना कम्तीमा ८० प्रतिशत भारतबाट आयत हुने गरेको तिलचन्द्र भट्टराईले बताए। भट्टराईका अनुसार भारतमा मकै भटमासको उत्पादन कम हनु र नेपालमा पर्याप्त उत्पादन नहुँदा दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको हो। दाना उद्योग संघका अनुसार भारतबाट वार्षिक २५ अर्ब रुपैयाँ बराबरको मकै, भटमास आयात हुने गरेको छ। नेपालमा ठूला र साना गरी देशैभर १२० वटा दाना उद्योग छन्। जसमध्ये चितवनमा मात्रै २२ वटा छ। देशभर दैनिक दुई हजार ७०० मेट्रिकटन दाना खपत हुने गरेकोमा २८ प्रतिशत चितवनमा उत्पादन हुने गर्दछ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ७ : ५३ बजे