३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

शिवराजको देवीपुर गाउँ पुर्जाविहिन, राज्यको आखाँ कहिले पुग्ला ?



कृष्णनगर । 

कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित देवीपुर गाउँ जग्गाधनी पुर्जाविहिन छ । विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा ११९ परिवारको बसोबास छ । ति सबै परिवार जग्गाधनी पूर्जाबाट वञ्चित छन् ।

कारितास नेपाल र सहज नेपाल कपिलवस्तुले पुनर्वासका लागि करीब रु ५५ लाखको लागतमा १२३ घर निर्माण गरिएको हो । सहज नेपालका अध्यक्ष शरद अधिकारीका अनुसार पूरै बस्ती विस्थापित भएको अवस्थामा बस्ती पुनःनिर्माण गरिएको हो । एक दशक बित्दासमेत आफूहरुले जग्गाको पुर्जा नपाएको स्थानीयवासी खेतुलाल रानामगरले गुनासो सुनाउनुभयो ।

पुनर्वासको एक दशक बित्दासमेत उनीहरु सुकुम्बासी नै छन् । बस्ती बस्दा ७५० जनसङ्ख्या रहेकामा हाल बढेर एक हजार ३०० पुगेको रानामगरले बताउनुभयो । “चुनावका बेला पुर्जा दिन्छौँ भन्थे, अहिले त कोही पनि आउँदैनन”, उहाले भन्नुभयो । बस्ती बसाल्दा १२३ परिवारको बसोबास भए पनि हाल झण्डै ३० परिवार विस्थापित भएका छन् । कतिपयले पुनर्वासमा पाएको घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीयवासी सीतादेवी जलारीले बताउनुभयो ।

प्रतिपरिवार घरसहित पाँच कट्ठा जमीन तत्कालीन अवस्थामा उपलब्ध गराएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताउनुभयो । स्थानीय तहमा घरधुरी कर तिरिरहेको भए पनि घर जग्गाको पुर्जा पाउन नसकेको लोकबहादुर सुनारले बताए । विसं २०६५ मा पुनःनिर्माण भएको देवीपुर बस्तीका घर जीर्ण बन्दै गएका छन् । बस्ती छाडेर अन्यत्र बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको छ ।

पुर्जाको समस्या स्थानीय तहले समाधान गर्न नसक्ने नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । (रासस)

 

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ४ : २३ बजे