३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जेसिज कपिलवस्तुको १९ औं पद हस्तान्तरण, भुसालद्धय सम्मानित



मायादेवी अनलाइन, चारनम्बर ।

नेपाल जेसीज वर्ष २०१८ कपिलवस्तुले वर्ष २०१९ को लागि मंगलबार साँझ पद हस्तान्तरण गरेको छ । मंगलबार पीस हिमालय रिसोर्ट ठाकुरापुरमा पदस्थापना कार्यक्रम गरी जेसिज २०१८ का अध्यक्ष सुन्दर पाण्डेले २०१९ का अध्यक्ष खुमानन्द घिमिरेलाई पद हस्तान्तरण गर्नु भएको हो ।

यस्तै वर्ष २०१८ का सम्पूर्ण पदाधिकारीले २०१९ मा सर्वसम्मत कार्यसमितिमा चयन भएका महासचिव लगायतका सदस्यलाई पद हस्तान्तरण गर्नुभएको थियो । निर्वाचन आयुक्त जेसिजका पूर्व उपाध्यक्ष गुणनीधि भुसालले अध्यक्ष घिमिरेलाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो भने घिमिरेले आफ्नो कार्यसमितिमा रहेका सबैलाई सपथ खुवाउनु भएको थियो ।

पदभार ग्रहणपछि कार्यसमितिले जेसिजको विधि र नियममा रहेर काम गर्ने नवनियुक्त अध्यक्ष खुमानन्द घिमिरेले बताउनुभयो । उहाँले जेसिजको भवन र सचिवालयलाई व्यवस्थित गर्नेदेखि अरु धेरै योजना बनाएर अघि बढ्ने बताउनुभयो । त्यसको लागि सबै कार्यसमितिमा आएका सबैलाई दत्तचित्त्त भएर आफूलाई सहयोग गर्न आह्वान गर्नु  भएको छ । साथै उहाँले बिभिन्न सदस्यलाई कार्यसमितिमा मनोनयन गर्नुभएको छ । जेसिज कपिलवस्तु २०१८ का अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, निवर्तमान अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थी लयागते बोल्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिजका निवर्तमान अध्यक्ष श्रीधर बस्यालले जेसिज पूर्णरुपमा सामाजिक संस्था भएको बताउनु भएको छ । जेसिजमा लागेका मानिस आफ्नो पेशा र व्यावसायलाई सफलतापूर्वक संचालन गर्न सक्ने व्यक्ति भएको हुँदा सबै १८ बर्ष उमेरदेखि ४० बर्षसम्मका व्यक्तिहरु जेसिजमा आवद्ध हुनुपर्ने बताउनुभयो । कपिलवस्तुको अबको नेतृत्वले राष्ट्रिय स्तरसम्म पुरस्कृत हुने गरी काम गर्नेमा आशाबादी रहेको बताउनुभयो । उहाँले युवाहरुलाई स्वदेशमै केही गर्न सकिनेबारे उत्प्रेरणा प्रदान गर्नु भएको थियो ।

विशिष्ट अतिथि सांसद विष्णु पन्थीले जेसिजका युवाहरुले समाजमा समस्याको रुपमा रहेको लागुपदार्थ दुव्र्यसनी रोक्न विशेष भूमिका खेल्न आग्रह गर्नुभयो । मुलुकमा आयात प्रतिस्थापन गर्न सके मात्र मुलुकले धेरै प्रगति गर्न सक्ने भन्दै सांसद पन्थीले उत्पादनमा युवाहरुलाई लगाउनको लागि नयाँ नेतृत्वले काम गर्नु पर्ने बताउनु भयो । विशिष्ट अतिथि जेसिजका कार्यकारी उपाध्यक्ष रमेश चन्द्र भुसाालले आफू कपिलवस्तुबाट केन्द्रिय उपाध्यक्षमा पुगेकाले बर्ष २०१९ को नेतृत्वलाई काम गर्न सजिलो हुने बताउँदै अधिकतम युवाहरुका समस्यामा केन्द्रित रहेर काम गर्न आग्रह गर्नु भयो । कार्यक्रममा जेसिजका निरुपती अर्जुन अधिकारी, श्याम सुन्दर पाण्डे लगायतले संसारका सारा युवाहरुको धरोधर जेसिज भएको भन्दै यसमा सबै गोलवद्ध हुनुपर्ने बताउनुभयो ।

यस्तै पूर्व अध्यक्ष तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जेसिजबाट उत्पादन भएका मानिस आज सरकारी तथा गैर सरकारी संस्था तथा बिभिन्न वित्तीय संस्थामा सफल नेतृत्व गर्न सफल भएकाले जेसिजले मानिसलाई सच्चा  र विवेकी मानव बनाउने बताउनुभयो । विगतमा पनि बिभिन्न विपत तथा दुखमा परेका मानिसहरुके साहारा जेसिज बनेकाले मानवीय र सेवाभावले प्रेरित भएर काम गर्न नयाँ नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो ।

२०१९ का अध्यक्ष सुन्दर पाण्डेले आफूले धेरै गर्ने लक्ष्य बोके तापनि सबै पूरा नभएकाले अवको नेतृत्वलाई ती कार्यभार गर्न अनुरोध गदै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा सहयोग गर्ने सबैलाई मायाको चिनोले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष रमेश चन्द्र भुसाललाई दोसल्ला  र हर्षबढाइँले सम्मान गरिएको छ । पूर्व अध्यक्ष क्लवका अध्यक्ष उमानाथ पौडेलले दोसल्ला र करुवाले भुसाललाई सम्मान गर्नु भएको थियो भने पूर्व अध्यक्ष गुणनिधि भुसाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रम संयोजक बाबुराम अर्यालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन जेसिज बर्ष २०१८ का महासचिव गुरुदेव पौडेल र वर्तमान महासचिव शुसील खत्रीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ४ : ०२ बजे