३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अनमोलले इन्कार गरेको चलचित्रमा प्रदीपलाई अफर



काठमाण्डौ ।
सुपरस्टार अभिनेता अनमोल केसीले छाडेको चलचित्र ‘ब्याचलर बन्टी’का निम्ति अर्का सुपरस्टार अभिनेता प्रदीप खड्कालाई अफर गरेको खबर बाहिरिएको छ । केही समय अघि मात्र अनमोलले चलचित्रको कथा मन नपरेको भन्दै चलचित्रबाट हात झिकेका थिए ।
निर्देशक मिलन चाम्सले अभिनेता अनमोललाई उनले तोके अनुसारको मूल्य दिएर चलचित्र ‘ब्याचलर बन्टी’ मा साइन गराएका थिए । तर कथा हेरिसके पश्चात अनमोलले चलचित्रमा काम गर्न इन्कार गरे । अहिले आएर चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदीप खड्कालाई चलचित्रका निम्ति अफर गरेका छन् ।
निर्माता खड्का र अभिनेता खड्काबीच चलचित्रको विषयमा रहेर कुरा पनि भइसकेको बताइएको छ । तर अभिनेता प्रदीपले चलचित्रमा काम गर्ने नगर्ने भन्ने बारै कुने उत्तर नदिएको बताइएको छ । प्रदीपको यस अघि नै ३ चलचित्रमा काम गर्ने पक्का भइसकेका कारण यो चलचित्रमा काम गर्ने सम्भावना न्यून रहेको बताइन्छ ।
यदि प्रदीपले चलचित्रमा काम गर्ने पक्का भए चलचित्रको नाम समेत परिवर्तन गर्ने निर्माण पक्षको योजना छ । ‘ब्याचलर बन्टी’ बाट चलचित्रको नाम ‘सोलिडोली’ राख्ने सोच निर्माण पक्षले गरेको छ । खासमा सुरुमा यो चलचित्रको नाम ‘सोलिडोली’ नै थियो र चलचित्रमा प्रदीपलाई नै अभिनय गराउनेसमेत तय भइसकेको थियो तर अभिनेता प्रदीप खड्का र निर्देशक मिलन चाम्सबीचको सम्बन्धमा केही खट्पट भएपछि चलचित्रको नाम ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो ।
अन्ततः अनमोलले चलचित्र नगर्ने बताए पछि निर्माण पक्ष पुनः प्रदीप खड्कातिर नै फर्किएको छ । निर्माता सुदीप खड्का, प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् । उज्यालोबाट

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ९ : ०३ बजे