३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मनकामना सामुदायिक बनमा दिगो बैज्ञानिक बन व्यवस्थापन लागु गरिदै


१४ माघ २०७५ सोमबार ००:००  

0
Shares

वाणगंगा, कपिलवस्तु ।
मनकामना सामुदायिक बन उपभोक्ता समूहले दिगो वैज्ञानिक बन व्यवस्थापनको अवधारणा कार्यान्वयन गर्दै कार्ययोजना पारित गरेको छ । सामुदायिक बनको कार्यालय नन्दनगरमा सोमबार सम्पन्न उपभोक्ताको विशेष भेलाले दिगो वैज्ञानिक बन व्यवस्थापनको कार्ययोजना पारित गरेको हो । भेलामा सरोकारवालाले दिगो बैज्ञानिक बन व्यवस्थापनको अवधारणा लागु गर्दै बन संरक्षण र सम्वर्धनमा सामुदायिक बनलाई नमुना बनाउन सुझाव दिएका थिए । पछिल्लो समय विभिन्न वहानामा बनक्षेत्रमा बढेको अतिक्रमण तथा बन विनासले पर्यावरणीय र मानव समुदायनै संकटमा परेको प्रति चिन्तित हुदै सरोकारवाला यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले प्राकृतिक श्रोत साधनले आफनो वडा धनी भएपनि यसको व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । उहाँले प्राकृतिक श्रोतसाधनको सही उपयोग र संरक्षणले मात्र दिगो विकास हुने भएकाले आम उपभोक्तालाई बन संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । अध्यक्ष पौडेलले रुपन्देही र अर्घाखाँचीको सिमाना रहेको सामुदायिक बनलाई नमुना बनाउने गरी नेतृत्वले अझ धेरै मेहनत गर्नुपर्ने बताउनुभयो ।
दिगो वैज्ञानिक बन व्यवस्थापनबाट पुस्तौ पुस्तासम्म बन संरक्षित भई आर्थिक सामाजिक विकास संगै दैनिक जीवनयापनमा सहज हुने सव डिभिजन बन कार्यालय पिपराका कार्यालय प्रमुख खिल बहादुर तामाङ्गले बताउनुभयो । मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेलले दिगो वैज्ञानिक बन व्यवस्थापनमा उपभोक्ताको सहभागीतामा महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ क्याम्पसका प्राचार्य वालाराम ज्ञवाली, नेपाल नागरिक समाजका अध्यक्ष युवराज केसी, डिभिजन बन कार्यालयका सहायक बन अधिकृत लालबाबु झा, वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष विश्व कार्की, वैजलपुर जनकल्याण सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष भुमिराज कार्की लगाएतले बनको संरक्षण र विकासले नै आर्थिक सम्बृद्धि हुने बताएका थिए । कार्यक्रम मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेलको अध्यक्षता तथा सचिव गंगा भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ३ : ५८ बजे