३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भन्छन, ‘मन हुनेको धन हुँदैन’, तर, रिक्सा चालक तिमल्सिनाबाट केही सिकौं



रौतहट । 

आफ्नो काम छाडेर अरुको सेवा गर्ने कमै मनकारी भेटिन्छन् । आफै गरिब, मजदुरी गरेर परिवार पाल्ने एक रिक्सा चालकलाई जाडो सुरु हुनासाथ भ्याई नभ्याई हुन्छ । उनलाई उनको रिक्सामा यात्रु राखेर पैसा कमाउने भ्याईनभ्याइ भने होईन । जाडो मौसममा अरुको सेवा गर्न भ्याईनभ्याई हुने गर्छ उनलाई ।

समाजसेवाको नाममा ठगेर खानेको कमी नभएको यो समाजमा गरीब, असहायलाई सहयोग गरेर उदाहारणीय पात्र बनेका छन् रौतहटका रिक्साचालक केदार तिमल्सिना । उनले अरुको सेवा गर्न धन नै चाहिन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् । ई—रिक्सा चलाएर दिनभरीमा चारदेखि पाँच सय रूपैयाँ कमाएर परिवार पाल्दै आएका तिमल्सिना यतिखेर जाडोमा दलित बस्तीमा न्यानो कपडा बाँडदै हिडेका छन ।

दिनभरी यात्रु अनि उनीहरूको सामानको भारी बोकेर पसिना बगाए पछि मात्रै आफ्नो घरमा चुल्हो बल्ने स्थितिमा रहेका जिल्लाको चन्द्रपुर नपा– ४ कप्तान टोलका ४० वर्षीय केदारप्रसाद तिमल्सिना अहिले जिल्लाको उत्तरी भेगका अधिकांश दलित बस्तीहरूमा आफ्नै रिक्सामा कपडा राखेर बाँडदै हिडेका छन ।

मुटु काम्ने जाडोमा न्यानो लुगा लगाउन नपाएर मान्छे कठ्यांग्रिएर मरेको देख्दा र सुन्दा निकै दुःख लागेकाले आफुले न्यानो कपडा बाँडने अभियान सुरु गरेको उनी बताउँछन् उनी भन्छन, ‘राज्यले गरीबलाई हेर्ने कहिले हो कहिले, मरे पछि राहत दिएर के गर्नु त्यसैले लुगा बटुलेर बाड्न शुरु गरें ।’

आर्थिक अवस्था कमजोर भएकैले सुरुमा रौटहटकै एक टायल कारखानामा दैनिक ५० रूपैयाँ ज्यालामा मजदुरी गरेका उनले केही समय ज्यामी काम पनि गरेको बताउँदै अहिले रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएको सुनाए ।

उनी रिक्सा चलाएरै बरु आफूले नखाईकन अरुको दुखमा सहयोग गर्न अगाडी बढ्छन् । शुक्रबार उनले चन्द्रपुर ९ को मुसहर बस्तीमा गएर ८० जना भन्दा बढीलाई न्यानो कपडा बितरण गरे । अघिल्लो साता चन्द्रपुर ३ गैंडाटारमा समेत उनले ३० जना बालबालिकालाई न्यानो कपडा बितरण गरेका थियो ।

जाडा बढ्दै गएकाले उनले न्यानो कपडाका लागी दाताहरूसंग कुराकानी समेत गरिरहेको र थप कपडा आएपछि बाढ्दै जाने बताए। यसअघिका वर्षहरूमा पनि शितलहर पीडित, बाढीपीडितहरूलाई उनले न्यानो कपडा, खाद्यान्न बितरण गरेका थिए । अघिल्लो बर्ष मात्रै चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाउनुपरेकाले यो बर्ष अझ बढी न्यानो कपडा बाँडने लक्ष्य राखेको रिक्साचालक तिमल्सिना बताउँछन् ।

आफैं गरीबी र दुःखको भूमरीमा जीबिकोपार्जन गर्दै आईरहेका रिक्सा चालक तिमल्सिनाको मन भने कुनै अर्बपतिको भन्दा पनि विशाल छ । राज्यले पनि यस्ता मनकारी समाजसेवीको कदर गर्नुपर्छ, समाजले प्रोत्साहन गर्नुपर्छ ।

 

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १ : ५४ बजे