३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मेस्सीको बार्सिलोनाले जिरोनालाई हरायो



एजेन्सी ।
स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनामाथि २–० गोलअन्तरको जित हासिल गरेको छ ।
यो जितले बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दूरी ५ अंक यथावत राखेको छ । एट्लेटिकोले शनिबार राति भएको खेलमा गेटाफोलाई २–० गोलले नै पराजित गरेको थियो । अंकतालिकामा बार्सिलोनाको २१ खेलबाट ४९ अंक भएको छ भने एट्लेटिकोको ४४ अंक छ ।
जिरोनाको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमै नेल्सन सेमेडोले बार्सिलोनाका लागि सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफ एक गोलले पछि परेको घरेलु टोली जिरोनाका डिफेण्डर बर्नाडो स्पिनोसा ५१औं मिनेटमै दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि टिमको प्रदर्शन डगमडाएको थियो ।
कम गोल खाने रणनीति लिएको जिरोनाले बार्सिलोनालाई सहजै खेलमा हावी हुने अवसर भने दिएन । १० खेलाडीमा समेटिएको जिरोनाविरुद्ध बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले ६८औं मिनेटमा दोस्रो गोल गरे । मेस्सीको यो सिजनको १८औं लिग गोल हो । त्यसयता गोल हुन सकेन र बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्यो ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १ : ५८ बजे