४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

क्याप्टेनको गीतमा निरुता र भुवन केसीले नृत्य गर्ने



काठमाण्डौ ।
अभिनेत्री निरुता सिंह १० वर्षपछि नेपाली सिनेमा उद्योगमा फर्किँदा पनि उनलाई एकपछि अर्को सिनेमा मिलिरहेका छन् ।
केही समय अघि एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाईँ नभन्नु ल ५ मा काम गरेकी थिइन् । यस सिनेमामा उनका केही दृश्यहरुमात्र थिए । तर दर्शकले उनलाई अलिकति देख्न पाउँदा पनि निकै ठूलो खुशी मिलेको बताए ।
दर्शकको यही मायाका कारण निरुताले सिनेमा ‘दाल भात तरकारी’मा हरिवंश आचार्यको जोडीको रुपमा काम गरेकी छिन् । यो सिनेमाको छायांकनको लागि २ महिना नेपाल बसेर केही दिन अघि मात्रै मुम्बई फर्केकी निरुता फेरि नेपाल आएकी छिन् ।
उनी यस पटक पनि सिनेमाको कामले नेपाल आएकी हुन् । उनी सिनेमा क्याप्टेनमा समावेश एउटा गीतको लागि नेपाल आएकी छिन् ।
केही दिनअघि मात्रै मुम्बई पुगेकी निरुता अभिनेता अनमोल केसीको आग्रहमा नेपाल आएकी हुन् । अनमोलकै आग्रहमा उनले यस गीतमा काम गर्न मानेको निर्माता भुवन केसीले बताएका छन् ।
केही समय अगाडि एक कार्यक्रममा निरुताले आफूलाई अभिनेता अनमोल केसीसँग काम गर्न मन लागेको बताएकी थिइन् । सिनेमा क्याप्टेनमा समावेश उक्त गीतले उनको यो इच्छा पूरा गर्ने भएको छ । गीतमा निरुतासँगै अनमोल केसी र भुवन केसीले नृत्य गर्नेछन् ।
फागुन १७ गतेबाट प्रदर्शन हुन लागेको ‘क्याप्टेन’मा समावेश उक्त गीतको छायांकन केही दिनमा हुने निर्माण पक्षले जनाएको छ ।
अभिनेता भुवनको यस गीतमार्फत नेपाली सिनेमामा ८ वर्षपछि कमब्याक हुँदैछ । निरुता सिंहले २५ वर्ष अगाडि भुवन केसीकै सिनेमा ‘दक्षिणा’बाट यो क्षेत्रमा पाइला टेकेकी हुन् ।

‘क्याप्टेन’मा अभिनेता अनमोल फुटबलरको भमिकामा छन् । दिवाकर भट्टराईको निर्देशन रहेको यस सिनेमामा अनमोलसँगै उपासना सिंह ठकुरी र प्रियंका एम भि मुख्य भूमिकामा छन् ।
उज्यालोबाट साभार ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  १० : १२ बजे