४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

धैरेनी डाँडाले उचाल्यो महिला क्वीजको उपाधि



मायादेवी अनलाइन, बाणगंगा । 

धैरेनी डाँडा टोल विकास संस्था मोतिपुरले महिला सचेतना सम्बन्धि टोल विकास स्तरीय हाजिरी जवाफ प्रतियोगताको उपाधि जितेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ७ कार्यालयले महिला लक्षित कार्यक्रम अन्तर्गत आयोजना गरेको प्रतियोगितामा नौ वटा टोल विकास संस्थालाई पछि पार्दै धैरेनी डाँडा विजयी भएको हो । प्रतियोगितामा देउराली टोल विकास संस्था मोतिपुर द्धितीय, बुद्ध महिला बचत तथा क्रण सहकारी संस्था बनगाई तृतीय र मोतिपुर टोल विकास संस्थाले सान्त्वना स्थान ग्रहण गरेका छन् ।

प्रतियोगितामा विजयी दिदी बहिनीहरुलाई नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष विष्णु गिरी, समन्वयकर्ता ए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागी लगायतले प्रथम पुरस्कार स्वरुप मिक्स्चर, द्धितीयमा राइस कुकर, तृतीयमा इलेक्ट्रिक कित्ली र सान्त्वना पुरस्कार स्वरुप थर्मस प्रदान गर्नु भएको थियो । १० टिमले सहभागिता जनाएको प्रतियोगितामा महिला, बालबालिका, प्रजनन स्वास्थ्य, स्थानीय विकास निर्माण, जनप्रतिनिधि र समसामयिक बिषयमा प्रश्नहरु सोधिएको थियो ।

यसैबीच बाणगंगाा नगरपालिका वडा नम्बर ७ ले गरेको महिला हाजिरी जवाफले समाज रुपान्तरण गर्न र महिलालाई शशक्तिकरण गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । यस क्षेत्रमै नयाँ कार्यक्रमको आयोजना गरेकोमा प्रमुख अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले वडा नम्बर ७ लाई धन्यबाद दिँदै कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । विकास निर्माण भनेको केवल भौतिक पूर्वाधार मात्र नभएर सामाजिक, शैक्षिक र मानसिक विकास पनि रहेकाले यस्ता कार्यक्रम जरुरी रहेको उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि प्रदेश सांसद विष्णु पन्थीले अब महिलाहरु शशक्त भएर समाज रुपान्तरणमा लाग्नु पर्ने बताउनुभयो । उहाँले समाजमा रुपान्तरण गर्नका लागि नयाँ खालका शैक्षिक कार्यक्रम आयोजना भएको भन्दै ७ नम्बर वडाले गरेको कार्यक्रम नयाँ कदम भएको बताउनुभयो ।

नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले यस्ता कार्यक्रम हरेक टोलटोलमा आवश्यक भएको बताउनुभयो ।

वडाध्यक्ष विष्णु गिरीले आफूले नयाँ र राम्रो काम गर्दा आफ्नै सहकर्मीहरुबाट आलोचित हुनुपरेको भन्दै आलोचनाकै बीचमा आफूले निरन्तर जनमुखी काम गर्दै जाने बताउनु भयो । महिला क्जिज गर्दा पनि आफू आलोचित भएको भन्दै कार्यक्रम सम्पन्न भएपछि त्यसको सन्देश सबैले थाहा पाएको बताउनु भयो । महिलाहरु घर र किचनमा मात्र सिमित हुन नहुने भन्दै कार्यक्रमले त्यसको लागि पनि सहयोग गरेको बताउनु भयो । आफ्नो कार्यकालभित्र वडालाई नगरकै समृद्ध बनाउने भन्दै आफ्ना योजनामा साथ दिन गिरीले जनतालाई आग्रह गर्नुभयो ।

वडाध्यक्ष गिरीको अध्यक्षता, वडा सदस्य सावित्रा थारुको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष शुकदेव थारु, बाणगंगाा नगरकार्यपालिका सदस्य सरितादेवी ढकाल, समाजसेवी शेषकान्त बेलबास लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बाणगंगाा नगरकार्यपालिका सदस्य, वडाका महिलादिदीवहिनी र बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सहभागिता जनाउनु भएको थियो ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ३ : ५६ बजे