४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बिचल्लीमा उखु किसान, अझै सुगर मिल सञ्चालनमा आएन



नवलपरासी ।
उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् ।

अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म पश्चिम नवलपरासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । जिल्लामा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् ।

अहिलेसम्म कुनै पनि उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दै गएकाले आफूहरू निकै समस्यामा परेको उखु किसानका अगुवा धीरज त्रिपाठीले जानकारी दिनुभयो । पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको उचित व्यवस्थापन गर्न नसक्दा आफूहरू निरास बन्दै गएको उहाँले बताउनुभयो ।

अघिल्लो वर्षको बाँकी रकम नदिने र यस वर्षसमेत समयमै उखु क्रसिङ नहँुदा लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ । पश्चिम नवलपरासीमा रहेको बागमती सुगर मिलले गत वर्षको करीब रु चार करोड ५० लाख र इन्दिरा चिनी उद्योगबाट रु ५० लाख भुक्तानी दिन बाँकी रहेको किसानको जिकिर छ ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरिसकेको छ । तत्कालै चिनी उद्योग सञ्चालनमा पथ्र्यो अझै एक साताभित्र उद्योग सञ्चालनमा नआए आफूहरू उखु प्रदर्शनसहित सडक आन्दोलन गर्ने अन्तिम तयारीमा पुगेको उखु किसान एवं पश्चिम नवलपरासीका साविक कुडिया गाविसका पूर्वअध्यक्ष प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ३ : १४ बजे