४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कृषिमन्त्रीलाई बदिया भाले उपहार, खालान कि, पाल्लान ?



मायादेवी अनलाइन, दाङ । 

घोराहीमा विहीबारदेखि सुरु भएको प्रदेश स्तरीय पोल्ट्री महोत्सव तथा प्रदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाललाई दाङको चिनोको रूपमा बदिया भाले दिइएको छ । दाङ बदिया भाले उत्पादनमा प्रख्यात भएकाले स्थानीय उत्पादनलाई चिनाउन मायाको चिनोका रूपमा उपहार दिएको आयोजकले जनाएको छ ।

सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजना महोत्सव सुरु भएको हो । महोत्सव उद्घाटन गर्दै मन्त्री खनालले नेपाल कुखुरा व्यवसायमा मात्रै आत्मनिर्भर भएको बताउनुभयो ।

अरू सबै सामग्री आयात गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले कुखुरा र अण्डा उत्पादनमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनुभयो । ‘हामीसँग प्रशस्तै उत्पादनका सम्भावनाहरू भए पनि किनेर खानुपरेको छ,’ उहाँले भन्नुभयो ,‘आफ्नो परम्परागत कृषि पेसा छोडेर विदेश धाउने चलन सुरु भएको छ ।’

कृषि पेसा गर्नेको जीवनमा कहिल्यै परिवर्तन नआएको बताउँदै मन्त्री खनालले अब कृषिलाई सम्मानजनक पेसा बनाउन सरकार लागिपरेको जानकारी दिनुभयो ।

यसैबीच नेपाल सरकारका कृषिमन्त्री चक्रपाणि खनाललाई दाङका व्यवसायीले किसानका समस्या सुनाएका छन् । उद्योग वाणिज्य सङ्घले विहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा यहाँका व्यवसायीले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा पूरा गर्न सबैभन्दा पहिले किसानका समस्या समाधान हुनुपर्ने धारणा राखका थिए ।

कृषिमन्त्रीसँग आफ्नो कुरा राख्दै उद्योग वाणिज्य सङ्घका प्रदेश उपाध्यक्ष हेमराज बञ्जाडेले कृषि उपज राख्न प्रयोग हुने चिस्यान केन्द्रका मेशिन नेपाल भित्र्याउँदा भन्सारमा दोहोरो, तेहेरो कर लगाउँदा मेशिनको मूल्य बढ्न जाने र अन्तमा किसानलाई नै तरकारी फलफूल राख्दा महँगो पर्न गएको भन्दै कृषिसँग जोडिएको उपकरण नेपाल भित्र्याउँदा करमा मिनाहा गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ३ : ०५ बजे