२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज



काठमाण्डौँ ।  

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक –आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ।

बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति जस्ता विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसको भ्रातृ संस्था नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा छलफल जारी छ।

नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वा्चित भएको थियो। कूल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका सङ्घका नेता प्रेम जोशीले जानकारी दिनुभयो।

त्यस्तै पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर राखी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।

त्यसमा खासगरी केन्द्रीय सदस्यले पार्टीका स्थानीय तहबाटै निर्वा्चित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो। केन्द्रीय समिति बैठकको तयारी र खासगरी नेविसङ्घको सम्बन्धमा के गर्ने भनी परामर्श गर्न बुधबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

प्रकाशित मिति : १० माघ २०७५ बिहिबार ००:००  १ : २० बजे