४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुमा यातायात व्यवस्था विभागको कार्यालय स्थापनाको माग



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलबस्तुमा यातायात व्यवस्था विभागको कार्यालय स्थापनाको माग गर्दै तौलिहवा उद्योग वाणिज्य संघले प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयमा ज्ञापनपत्र पेस गरेको छ । मुलुक संघीयतामा गइसके पनि कयौं कार्यालयका शाखाहरू जिल्लागत रुपमा नहुँदा समस्या झन् जटिल बन्दै गएको प्रति गम्भीरता रहेर कपिलवस्तुमा विभागको शाखा कार्यालय स्थापानार्थ बुधबार संघले प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीसमक्ष ज्ञापनपत्र पेश गरेको हो ।

अस्थायी राजधानीका रुपमा रहेको कार्यालय बुटवलबाट मणिग्राम र भैरहवामा शाखा कार्यालय विस्तार गरिरहँदा कपिलवस्तुमा समेत यस्को शाखा कार्यालय स्थापना गर्नुपर्ने मागसहित ज्ञापनपत्र पेश गरिएको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले जनाउनुभयो ।

गाडीको लाइसेन्स बनाउन, पास गर्न नवीकरण गर्न बुटवल धाउनुपर्ने बाध्यतालाई चिर्नुपर्ने उहाको भनाइ छ। कपिलवस्तु सदरमुकाम तौलिहवामा यातायात व्यवस्था विभागको कार्यालयको शाखा स्थापना गरिए अर्घाखांचीबासीहरूलाई समेत सहजता हुने हुँदा यस्तो माग गरिएको उहाले बताउनुभयो ।

उता ज्ञापनपत्र बुझ्दै प्रदेश ५ भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले यातायात व्यवस्था विभागको सेवाकेन्द्र स्थापनाका लागी प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । हाल प्रदेश कार्यालयमा कर्मचारीको अभाव रहेकाले निकट भबिष्यमा कर्मचारी ब्यबस्थापन भएपछि कपिलबस्तुमा सेवा केन्द्र स्थापना गरिने मन्त्री चौधरीले बताउनुभएको छ । मन्त्रालयमा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी दीपु, उपाध्यक्ष मोहम्मद जाहिद, कोषाध्यक्ष सन्दिप श्रीवास्तव, सहकोषाध्यक्ष बृजबिहारी कुर्मीलगायतको टोली पुगेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  १ : ५८ बजे