४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रहरी इन्काउन्टरमा मारिए मोस्ट वान्टेड चौधरी



काठमाडौँ ।
सप्तरीको राजविराजमा प्रहरी इन्काउन्टरमा मोस्ट वान्टेड सूचिमा रहेका दिपेन्द्र चौधरीको मृत्यु भएको छ । बुधबार बिहान साढे चार बजे राजविराज रुपनी सडकखण्ड अन्तर्गत रायपुर नजिकै प्रहरीले चलाएको गोली लागेर चौधरीको मृत्यु भएको हो ।

चौधरीमाथि २०७२ सालमा असईको हत्या गरेको र हवल्दारलाई घाइते बनाएको आरोप थियो । प्रहरी इन्काउन्टरमा मारिएपछि मात्रै मृतक मोष्ट वान्टेड दिपेन्द्र चौधरी रहेको खुलेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले बताए । चौधरीले प्रहरीको गाडीमा बम प्रहार समेत गरेका थिए ।

‘अपराधिक समूह जिल्लामा फेरि सक्रिय रहेको सूचनाका आधारमा हामीले जिल्लाभरि नै एम्बुस टोली खटाएका थियौँ, बिहान साढे चार बजे प्रहरी गस्तीमाथि गोली प्रहार भएपछि आत्मरक्षाका लागि फायरिङ्ग खोल्दा मोटरसाइकलको पछाडि बसेका चौधरी ढले, अध्यारो भएका कारण मोटरसाइकल चलाउने व्यक्ति फरार छन्,’ एसपी बिष्टले भने । उनले प्रहरी कारवाहीमा मारिएका सप्तरीको कडरबोना निवासी चौधरी थुप्रै अपराधिक घटनामा संलग्न रहेको बताए ।

‘पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या , एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेका थिए’, एसपी बिष्टले भने, ‘इलाका प्रहरी कार्यालय कडरबोना नजिकै केही वर्षअघि बम बिस्फोट गराउने व्यक्ति पनि चौधरी नै हुन् ।’

प्रहरीका अनुसार मृतक चौधरीको साथबाट एक राउण्ड कटुवा पेस्तोल समेत बरामद भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ६ : १२ बजे