४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

व्यवसायलाई आधुनिक तरिकाले सञ्चालन गर्न आवश्यक : सांसद पन्थी



बाबुराम रायमाझी, गोरुसिङ्गे ।
प्रदेश ५ का सांसद विष्णु पन्थीले व्यवसाय जिविकोपार्जन भन्दा आधुनिक तरिकाले सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । कपिलवस्तु एल पि ग्यास व्यावसायि संघको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले ग्यास व्यावसायीहरु नाफाको पछि नलागि उपभोक्ताहरुका समस्याको समाधान गर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले ग्यास व्यावसायमा अस्वस्थ प्रतिस्पर्धा भईरहेकाले निश्चित मापदण्ड पुरा गरेर मात्र व्यावसाय सञ्चालन गर्न सुझाव दिनुभयो । साथै उहाले ग्यास व्यावसायीहरुलाई प्रदेश सरकारले सदैव सहयोग गर्न तत्पर रहने बताउनुभयो । सांसद पन्थीले ग्यासको प्रयोग गर्ने तरिका र यसबाट हुने दुर्घट्ना तथा जोखिमको बारेमा पनि ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै ग्यास विक्रेता महासंघका केन्द्रिय अध्यक्ष महेश्वर कुमार श्रेष्ठले आम जनातको लागि सहज रुपमा ग्यास आपुर्ति हुनुपर्ने, कमिशनको वृद्धि गर्ने, ग्यासबाट हुने जोखिमका लागि ५ लाख सम्मका विमाको व्यवस्था गर्ने बताउनुभयो ।
साथै उहाले स्थानिय तहको समन्वयमा आम सर्वसाधारणहरुलाई विभिन्न चेतनामुलक कार्यक्रमको व्यवस्था गर्ने बताउनुभयो । उहाले ग्यास व्यावसायमा धेरै समस्या हुने गरेको र यो व्यावसाय सञ्चालन गर्ने ब्यक्तिले धेरै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाले सरकारले पनि ग्यास व्यावसायिहरुलाई हौसला बढ्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै तेस्रो अधिवेशनले दिनेश प्रसाद गुप्ताको अध्यक्षतामा आगामी तीन वर्षका लागि १५ सदस्यीय कपिलवस्तु एल पि ग्यास व्यावसायी संघ गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा खजान्ती प्रसाद गुप्ता, उपाध्यक्षमा राकेश राना, सचिवमा वाबुराम पाण्डे, सहसचिवमा जितेन्द्र मौर्य, कोषाध्यक्षमा भक्तिराम शर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अहिरु खाँन, मित्रलाल पोख्रेल, माधव प्रसाद श्रेष्ठ, भुमेश्वर खनाल, सरोज रेग्मी चयन हुनुभएको छ ।
त्यस्तै संस्थाका अध्यक्ष राम प्रसाद गैरेले मानविय जिवनयापनको आवश्यक वस्तु ग्यास हो तर पनि विश्वका कुनै पनि देशमा ग्यासमा भ्याट लागेको पाईदैन तर हाम्रो देशमा भ्याट लागेकोले नेपाल सरकार समक्ष ग्यासमा लाग्ने भ्याट हटाउनका लागि कार्ययोजना बनाई अगाडि बढाउने बताउनुभयो ।
त्यस्तै संस्थाका सचिव बावुराम पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामि कार्ययोजनाको बारेमा स्पष्ट पार्नुभयो । कार्यक्रममा विभिन्न ग्यास उद्योगका सञ्चालक, छिमेकी जिल्लाका ग्यास विक्रेता संघका अध्यक्ष, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष पार्वती पाण्डेको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ४ : ३३ बजे