४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओझेलमा जगदीशपुर ताल, माल पाएर पनि चाल पाएन सरकार !



मायादेवी अनलाइन, कपिलवस्तु ।

ताल वरपर वर्षौंदेखि सुकेका रुख, तालभित्र कतै घाँसैघाँस, कतै झाडी र पातपतिंगर । एक सय ५७ हेक्टरमा फैलिएको दक्षिण एसियाकै पहिलो मानवनिर्मित जगदीशपुर ताल पुग्न न पक्की सडक न सास्ती खेपेर पुग्नेका लागि पार्किङको सुविधा छ। देशभित्र र विदेशबाट आउने हजारौं चराले तालको रौनकता थपेका छन् तर, तालभित्र र आसपासको अवस्था र वातावरण हेर्दा लाग्छ, यहाँ आउने जो कोही पनि निरास बन्छ ।

तालको सरसफाइ र समग्र विकासमा कसैको ध्यान नपुग्दा महिनामै हुनसक्ने लाखौं आम्दानीसमेत गुमिरहेको छ । कपिलवस्तुको निग्लिहवास्थित ताल पुग्ने पर्यटकलाई पनि खान बस्नको उचित प्रबन्ध छैन । ताल वरिपरि पैदल हिँड्ने वा मोटरसाइकल गुडाउने अवस्था सहज छैन । तालका सम्पूर्ण दृश्यावलोकन गरेर आनन्द लिनेका लागि एउटा टावरसम्म छैन । तालको बारेमा सुनेर आउने जोकोही पनि हस्स परेर फर्कने गरेको स्थानीयको भनाइ छ । ‘दक्षिण एसियाकै ठूलो मानवनिर्मित ताल निकै मनमोहक होला भनेर आएको मनै खिन्न भयो, सोचेको एकछेउ पनि पाइनँ तालमात्रै ठूलो भएर के गर्नू ?’, अर्घाखाँचीको ठाडाबाट साथीसहित आउनुभएका दिलिप बेल्वासेले दुःखेसो पोख्नुभयो ।

ताल वरपरको वातारण, तालभित्रको झाँडीले मन रोएको उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘कम्तीमा देशकै प्रमुख पर्यटकीयस्थल बन्ने तालको संरक्षणमा  राज्य उदासिन भएकै हो, यसमा गर्ने लगानी पर्यटकलाई लिइने शुल्कले व्यहोर्छ तर किन माल पाएर पनि चाल पाउँदैन सरकार ?’

जगदीशपुर ताललाई ५ नम्बर प्रदेश सरकारले प्रमुख गन्तव्यको सूचीमा समेत राखेर विकास गर्ने जनाएको छ । संघीय सरकारले पनि हालै सार्वजनिक गरेको एक सय एक पर्यटकीय गन्तव्यको सूचीमा यो ताल परेको छ । नेपालभन्दा बाहिरका चराहरूको गन्तव्य हुन थालेपछि सन् २००३ मै विश्व रामसार सूचीमा जगदीशपुर ताल सूचीकृत भइसकेको छ ।

तालमा एक सय १८ बढी प्रजातिका चराचुरुङ्गी पाइने पंक्षी संरक्षण संघको भनाइ छ । यहाँ विश्वमै लोप हुने अवस्थामा पुगेका सानो खैरो गिद्ध, सुन गिद्ध र डंगर गिद्ध पनि सजिलै देख्न सकिने वरिष्ठ चराविद्् डा. हेमसागर बराल बताउँनुहुन्छ । तालमा अवलोकन गर्नेको मुख्य आकर्षण भनेकै चरा हुन् । चरा हेर्नका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् । तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायत देशबाट चरा आउने गरेको चराविद्को भनाइ छ। चराविद्का अनुसार, यो ताल चराको अलावा माछा, उभयचर, स्तनधारी, किरा र बोटबिरुवाको आश्रयस्थल पनि हो । सदरमुकाम तौलिहवाबाट नौ किलोमिटर उत्तरमा पर्ने यो तालमा आउँदा अधिकांश भाग कच्ची सडक भएकाले सास्ती व्यहोर्नुपर्छ ।

‘जगदीशपुर ताल पोखराका कुनै तालभन्दा पनि कम रहेनछ तर लगानीको अभावमा पूर्वाधार विकास नहुँदा एसियाकै महत्तवको विषय भएर पनि दसकौंदेखि ओझेलमा छ’, पोखराबाट पुगेकी रीता पौडेल भन्नुहुन्छ । खासगरि बाह्य पर्यटक खानपिन गर्दै तालको सौन्दर्यमा रमाउन चाहने भएकाले उसलाई रात बस्ने गरीका सबै व्यवस्था गर्न सके विश्वकै गन्तव्य बन्न सक्ने उहाको भनाइ छ ।

प्रकाशित मिति : ९ माघ २०७५ बुधबार ००:००  ३ : ०६ बजे