४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ’ : काङ्ग्रेसका नेताहरु



रुपन्देही, माघ ।
राजनीतिक संस्कार र आचरण सुधार नहँुदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको “लोकतान्त्रिक संस्कार र विचार” विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
उनीहरुले अन्तरद्वन्द्व र गुटबन्दीका कारण पार्टी कमजोर भएको बताउँदै कम्युनिष्टलाई गाली गर्दैमा पार्टी बलियो नहुने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक नेतृत्वको गलत आचरणका कारण नेपालको राजनीति आलोचित भइरहेको उल्लेख गर्दै राजनीतिलाई सम्मनित क्षेत्र बनाउन नेतृत्वले राजनीतिक संस्कार र आचरण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
पार्टीको आदर्श, सिद्धान्त र संस्कारमा नेता कार्यकर्ता रहन नसक्दा चुनावमा पार्टीले पराजय बेहोरेको बताउँदै उहाँले अबका दिनमा पनि कार्यशैली नफेरिए पार्टी बलियो नहुने धारणा व्यक्त गर्नुभयो ।
“चार वर्ष्भित्र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरी जनताका बीचमा जानुपर्छ”, नेता पौडेलले भन्नुभयो, “पार्टीको आन्तरिक द्वन्द्व र गुटबन्दीको अन्त्यका लागि समयमै महाधिवेशन गर्नुको विकल्प छैन ।”
समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेतृत्वमा आत्मबल कमजोर हुँदा पार्टी कमजोर भएको बताउनुभयो ।
काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक संस्कार र आचरण ठीक नभएका नेता पार्टीमा रहेसम्म लोकतान्त्रिक संस्कार बलियो नहुने बताउँदै “राजनीति कमाइ खाने भाँडो भयो, यो परिपाटी अन्त्य नभएसम्म राजनीतिक परिवर्तन सम्भव छैन”, भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी्भित्र विचौलियाको प्रभाव बढी भएकाले समस्या भएको उल्लेख गर्दै पार्टीलाई कम्युनिष्टसँग तुलना गर्दैमा संस्कार बदलिन्न, विचारअनुसार व्यवहार हुनुपर्छ बताउनुभयो ।
नेता देवराज चालिसेले काङ्ग्रेसको संस्कार र शैली हारेकोमा चिन्ता व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य रमा अर्यालले पार्टी बलियो हुन व्यक्तिका पछाडि नलागी सिद्धान्त र विचारको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ८ माघ २०७५ मंगलबार ००:००  ११ : १६ बजे