४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्वस्थानी व्रतकथा आजदेखि, रेडियो मायादेवीद्धारा दैनिक विहान ५ बजेपछि कथा वाचन प्रारम्भ



काठमाण्डौँ ।
प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा मनाइने श्रीस्वस्थानी व्रत आजदखि सुरु हुँदैछ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्म्कि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ।

यस वर्षको मेला माघ ७ गते आजदेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ। नूनसमेत नखाइ कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात आइतबार बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए।

पुजारीसँग जल लिनुअघि व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन्। व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन्। बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ। मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ। एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन्। खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवम् धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए।

स्वस्थानीको महिमा

यस अवसरमा राजधानीदेखि १७ किलोमिटर उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर साँखुस्थित शालिनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ।मणिशैल किनारमा महिला तथा पुरुष छुटृाछुटै श्रीस्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन्।पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ।

देवीदेवताका लीलाका प्रसँग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ। सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराइ गरिब तथा दुःखीको उद्धार गरेका थिए भन्ने धार्मिक विश्वास छ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ। श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ।राजधानीको मखनटोलस्थित तारिणीबहालभित्र पनि श्रीस्वस्थानीको मन्दिर छ। शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ।

स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ।

परम्परादेखि नै स्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालिनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ। एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ।शालिनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्ण्मिादेखि माघ शुक्ल पूर्ण्मिासम्म एक महिना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय दिलीप श्रेष्ठले बताए।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ।’मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन। यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो’ उनले भने।

मेला मूल आयोजक समितिकाअनुसार यहाँ भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्वस्थित बनाउने तयारी भएको छ।

रेडियोद्धारा कथा प्रारम्भ
कपिलवस्तुको बाणगंगाा ४ जितपुरमा रहेको रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले पनि सोमबारबाट श्रीस्वस्थानी ब्रतकथाको कथाबाचन सुरु गरेको छ । अबदेखि हरेक दिन विहान ५ बजेदेखि साढे ५ बजेसम्म दैनिक रुपमा स्वस्थानी व्रत कथा बाचन गरिने रेडियोका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले बताउनुभयो ।

यस क्षेत्रका श्रोताको माग र आवश्यकतालाई मध्यनजर गर्दै रेडियोले कथा वाचन सुरु गरेको उहाँले बताउनुभयो । श्रीस्वस्थानी कथा रेडियो संगै मायादेवी अनलाइन डट कम र मायादेवी अनलाइनको फेसबुक पेजबाट पनि संसारभर एकै साथ सुन्न सकिने रेडियोले जनाएको छ ।

रेडियो सुचारु भएको ५ महिनामै यस क्षेत्रमै अलग पहिचान बनाउन सफल भएको यस रेडियोले छिटै बिभिन्न रेडियाहरुसंग नेटवर्किङ गरी कार्यक्रम तथा खबर प्रशारण गर्ने जनाइएको छ ।

यस क्षेत्रको पहिलो खबर रेडियोको रुपमा रेडियोलाई स्थापित गर्ने योजना रहेको समाचार प्रमुख दिपक अनुरागीले बताउनुभयो । अब छिटै हरेक घण्टा खबर र ब्रेकिङ खबरसहित रेडियोले तयारी गरेको पनि अनुरागीले बताउनुभयो ।

प्रकाशित मिति : ७ माघ २०७५ सोमबार ००:००  २ : ०६ बजे