४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रविधिको उच्च प्रयोग गर्दै स्थानीय तह, फ्रि वाईफाई देखि डिजिटल नागरिक वडापत्र जडान



दिपक अनुरागी, कपिलवस्तु ।
कपिलवस्तुका स्थानीय तहले प्रविधिको उच्च प्रयोग गर्न थालेका छन । तराईका २२ जिल्ला मध्ये विकास निर्माणमा अलि पछाडि परेको कपिलवस्तुका स्थानीय तहले नयाँ नयाँ प्रविधिको उच्च प्रयोग गर्न थालेका हुन । जिल्लाका केही स्थानीय तहले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, अनलाइन पद्धतिबाट अभिलेख राख्न सुरु गरेका छन भने केहीले सिसि क्यामेरा जडान, डिजिटल नागरिक वडापत्र, फ्रि वाईफाई जोन स्थापना गरिसकेका छन । जिल्लाका सबै स्थानीय तहमा ई–हाजिरी जडान अनिवार्य जस्तो छ भने सिसि क्यामेरा जडान पनि अधिकांशले गरेका छन ।
बुद्धभूमि नगरपालिकाले पुसको १९ गते देखि नगरपालिकाको कार्यालयमा डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ । यो काम जिल्ला मै पहिलो पटक भएको हो । बिभिन्न कामको शिलसिलामा कार्यालयमा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उद्धेश्यले डिजिटल नागरिक वडा पत्र सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । सेवाग्राहीको सहजताको लागि डिजिटल नागरिक वडा पत्र सुरु गरिएको हो पाध्याले भने, “अब कामलाई छिटो छरितो बनाउन सकिन्छ ।” कुन शाखाबाट के काम हुन्छ र के के कागजपत्र जुटाउनु पर्छ भन्ने जस्ता जानकारीहरु दिनका लागि डिजिटल नागरिक वडा पत्र राखिएको उनले जनाए । ५ लाख भन्दा कम रकम खर्च गरेर डिजिटल नागरिक वडा पत्र सञ्चालनमा ल्याइएको पाध्याले बताए ।
डिजिटल नागरिक वडापत्र संगै नगरपालिकाले सबै वडाबाट राजश्व संकलन सुरु गर्ने तयारी गरेको छ । सबै वडामा इन्टरनेटको सुविधा पुगेको भन्दै अब अनलाइनबाट राजश्व संकलन गर्ने तयारी भैरहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । वडा नंं. ४ बाट अनलाइन राजश्व संकलन भैरहेको बताउँदै उनले भने, “यही आव भित्र सबै वडामा सेवा विस्तार गर्ने योजनामा छौं ।” यस्तै नगरपालिकाको कार्यालय परिसर भित्र पनि सिसि क्यामेरा जडान प्रक्रियाको थालनी गरिएको छ । कार्यालय क्षेत्र भित्र सिसि क्यामेरा जडान संगै गोरुसिंगेको अर्घाखाँची चोक र डुमरा चोकमा पनि पक्रिया थालनी गरिने प्रशासनिक अधिकृत केशवराज भट्टराईले बताए । त्यसको लागि नगरपालिकाले यसै आर्थिक बर्षमा बजेट विनियोजन गरेको उनले जनाए । साथै यसै आवबाट सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा ई हाजिरी जडान गर्ने तयारी नगरपालिकाको छ ।
बुद्धभूमि जस्तै वाणगंगा नगरपालिका पनि प्रविधिमैत्री बन्दै गएको छ । नागरिक नगरपालिका कार्यालय सम्म आएर राजश्व बुझाउनुपर्ने झन्झट सदाका लागि अन्त्य भएको छ । अहिले नगरका ११ ओटै वडाबाट अनलाइन राजश्व संकलनको काम भैरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । भौगोलिक दुरी टाढा हुनेहरुलाई राजश्व बुझाउन निकै समस्या थियो प्रमुख प्रशासकीय अधिकृत मरासिनीले भने, “अहिले त्यो समस्या सदाका लागि अन्त्य भएको छ, सबै वडामा राजश्व बुज्ने व्यवस्था मिलाएका छौं । ” यतिमात्र होइन सवै वडाबाट घटनादर्ताको काम पनि भैरहेको छ ।
यस्तै नगरपालिकाले यही आवबाट नगरका दुई स्थानमा वाईफाई जोन राखेको छ । नगरका दुई पर्यटकीय स्थल सुपादेउराली पिपरा र राजापानी फ्रि वाईफाई जाने स्थापना गरेको उनले जानकारी दिए । त्यसको लागि यो आवमा दुई लाख बजेट विनियोजन गरिएको थियो । यस्तै नगरपालिकाका सबै वडामा इ हाजिरी जडान गरिएको छ । निकट भविष्यमा डिजिटल नागरिक वडापत्र राख्ने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।
शिवराज नगरपालिकाले विगत एक बर्ष देखि सिसि क्यामेरा जडान गरेको छ । कार्यालयमा आउने सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सिसि क्यामेराबाट लिने गर्छन । सिसि क्यामेरा जडानले कर्मचारीको कामलाइृ अनुगमन गर्न सहज भएको पौडेल बताउँछन ।
नगरपालिका मात्र होइन जिल्लाको विकट क्षेत्रका गाउँपालिकामा पनि प्रविधिको प्रयोग बढ्न थालेको छ । जिल्लाको सुदुरपश्चिम भेगमा अवस्थित विजयनगर गाउँपालिकामा पनि सिसि क्यामेरा जडान गरिएको छ । ई हाजिरी संगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै गतिविधि र सूचना सबै समक्ष पु¥याउन इन्टरनेट अनिवार्य भएको विजनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले बताए । उनले भने, “काम सम्पन्न गर्न सहज त छँदै छ, त्यसमा जनतालाई स्थानीय तहको गतिविधि, सूचनामैत्री बनाउन पनि इन्टरनेट आवश्यक छ ।”
जिल्लाका सबै स्थानीय तहले आफ्नै वेबसाइट बनाई सेवाग्राहीलाई सुसूचित गराइरहेका छन । सबै स्थानीयतहमा आइटी अफिसर राखेर प्रविधिको प्रयोग गरिएको छ । इन्टरनेट विस्तारपछि डकुमेन्टेसन, इमेलिङ, फ्याक्स, वेब सफ्टवेयर, जानकारी अपडेट लगायत दैनिक रूपमा सञ्चालन हुने कार्यालयका काम सम्पन्न गर्न सहज पुगेको कर्मचारी बताउँछन । नगर तथा गाउँपालिकाका दुर्गम गाउँका वडामा पनि इन्टरनेट प्रविधि जडानपछि कार्यालयको दैनिक कार्यसम्पादन सहज भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७५ आइतबार ००:००  २ : ४९ बजे