४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षामैत्री मेयर केशव कुमार श्रेष्ठ, जसलाई मुक्तकण्डले प्रशंसा गरौं !



मायादेवी अनलाइन, बुद्धभूमि ।
नैतिक शिक्षा विनाको पाठ्यक्रम र शिक्षण सामग्री विनाको अध्यापनले मुलुक समृद्ध हुन नसक्ने कपिलवस्तुका शैक्षिक वक्ताहरुले बताएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिकाले शुक्रबार आयोजना गरेको शैक्षिक सामग्री प्रदर्शनी, नगरपालिका स्तरिय वतृत्वकला प्रतियोगिता, एक शिक्षक एक झोला तथा पोषाक वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
नगरपालिकाको शैक्षिक गुणस्तरमा थप टेवा पुर्याउने उद्धेश्यले आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले पाठ्यक्रममा नैतिक शिक्षा र अध्यापनमा शैक्षिक सामग्रीको प्रयोग नभएमा यसको कुनै अर्थ नहुने बताउनुभयो । किताबको कुरा घोकाएर मात्र शिक्षाको उदेश्य पुरा नहुने भन्दै प्रमुख अतिथि खनालले शिक्षामा अनुशासन आवश्यक रहेको बताउनुभयो ।


यस्तै गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख बाबुराम भट्टराईले शिक्षण सिकाई क्रियाकलापमा शैक्षिक सामग्री प्रयोग अति महत्वपूर्ण भएको बताउनुभयो । विद्यार्थीहरुमा धेरै सिर्जनात्मक क्षमता लुकेको हुने हुँदा ती सबैलाई विकास गर्न हरेक विद्यालयले अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश ५ मै बुद्धभूमि नगरपालिकाको शैक्षिक गतिविधि अनुकरणीय रहेको बताउनुभयो ।
यसैगरी बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरभित्रको शैक्षिक अवस्थालाई आफ्नो कार्यकालमा नमुना बनाउने दाबी गर्दै आफूहरुले यस्तो कार्यक्रम आयोजना गरेको बताउनुभयो । नगरमा रहेका विद्यार्थीलाई सिजृनशिल बनाउन, शिक्षकहरुलाई हौसला प्रदान गर्न र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जाडोमा नयानो प्रदान गर्न एकै साथ बिभिन्न कार्यक्रम गरिएको भन्दै भावी दिनमा नगरले शिक्षा विकासमा जुन सुकै काम गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रशासनिक अधिकृत केशवराज भट्टराई, वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगायत बिभिन्न वडाका वडाध्यक्ष लगायतले बोल्नु भएको थियो ।


यसैबीच नगरपालिकाले गरेको शैक्षिक सामग्री प्रदर्शनीमा ४० विद्यालयलाई पछि पार्दै आधारभूत तर्फ गब्दहवा आधारभूत र मावि तर्फ निमडाँडा प्रथम भएका छन । यस्तै गरी सरस्वती आधारभूत लक्ष्मणपुर द्धितीय र जनकल्याण मावि बरकलपुर द्धितीय, अर्को सरस्वति आधारभूत र मवि इमिलिया तृतीय र आधारभूत विद्यालय बढरा र भृकुटी माविले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
यसै गरी विद्यार्थीको सर्बाङगिण विकासमा शिक्षकको भूमिका बिष्यक वक्तृत्वकलामा मावि इमिलियाकी सिमरन आचार्य प्रथम, नेपाल राष्ट्रिय माविकी सरोज पन्थी द्धितीय सिमा गुप्ता तृतीय र भृकुटी माविकी अस्मिता खनालले तृतीय स्थान हासिल गरेको छ ।
यसैगरी शुक्रबार नै नगरपालिकाले एक शिक्षक एक झोला कार्यक्रम अन्तर्गत १९ विद्यालयका शिक्षकलाई शिक्षण सामग्री सहितका ७१ वटा झोला, यस्तै गरी गरिब र जेहेन्दा विद्यार्थीलाई न्यानो कपडा वितरण अन्तर्गत नगरका मावि तहका ८, कक्षा ६ देखि ८ सम्मका ६ र कक्षा १ देखि ५ सम्मका ५ विद्यालयका जेहेन्दार छात्रछात्रालाई विद्यालय पोशाक र न्यानो कपडा वितरण गरिएको थियो ।
यसैगरी कार्यक्रम प्राङगण भर ४१ बिद्यालयका बालबालिकाले बिभिन्न शैक्षिक सामग्री बनाएर प्रदर्शनीको लागि राखेका थिए । विद्यार्थीहरुले इन्टरनेट विना चल्ने क्विज सफ्टवेर देखि अत्याधुनिक प्रविधि जडित शैक्षिक सामग्री बनाएर प्रदर्शनीको लागि राखेका थिए ।


शिक्षामैत्री मेयर केशव कुमार श्रेष्ठ !

नगरपालिकाका मेयर श्रेष्ठले शिक्षा सम्बन्धि विभिन्न रचनात्मक काम गर्दै आउनुभएको छ । यसभन्दा अगाडी नगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगीता गर्नुभएका मेयर श्रेष्ठले विभिन्न समय समयमा सामुदायिक विद्यालयमा अनुगमन गर्दै आउनुभएको छ । भौतीक संरचनाले मात्र नगरको विकास हुन नसक्ने धारणा राख्ने उहाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई मनोबैज्ञानिक रुपमा शिक्षा प्रति आकर्षित गर्न विभिन्न काम गर्दै आउनुभएको छ ।
शिक्षाको विकास विना भौतिक विकासले मात्र नगरमा समृद्ध हासिल गर्न नसकिने उहाँको धारणा छ । सामुदायिक विद्यालयको पढाईमा गुणस्तर खस्किदै गैरहेको सन्दर्भमा आफ्नो ५ बर्ष कार्यकालमा सामुदायिक विदालयलाई राम्रो बनाउने उहाँको योजना छ ।

प्रकाशित मिति : ५ माघ २०७५ शनिबार ००:००  ३ : ०५ बजे