९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा



एजेन्सी ।
उस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरेपछि लेभान्टेविरुद्ध पुनरागमनसहितको जित हासिल गरी बार्सिलोना स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा २–१ गोल अन्तरले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा घरेलु मैदान नाउ क्याम्पमा तीन गोल गर्न सफल भयो । र, समग्रमा ४–२ गोलको जितसँगै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

बिहीबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर डेम्बेलेले दुई मिनेटको फरकमा दुई गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । उनले ३०औं र ३१औं मिनेटमा गोल गरेका थिए ।

गएको सातामात्रै ला लिगामा बार्सिलोनाका लागि चार सयौँ गोल पूरा गरेका लियोनल मेस्सीले ५४ औं मिनेटमा तेस्रो गोल गरे ।

२–१ को अग्रतासहित नाउ क्याम्प पुगेको लेभान्टे त्यसपछि खेलमा फर्कन सकेन र प्रिक्वाटरफाइनल बाटै बाहिरियो ।

यद्यपी, साविक विजेता बार्सिलोनालाई पहिलो लेगमा अयोग्य खेलाडी खेलाएको भन्दै विवाद भएको छ । जसले गर्दा बार्सिलोना प्रतियोगितामा अयोग्य हुने सम्भावना छ ।

लेभान्टेले बी टिमबाट खेल्दा दोहोरो पहेलो कार्ड पाएका १९ वर्षीय डिफेण्डर जुहान बर्नाटेरिजलाई मैदानमा उतारेर नियम मिचेको भन्दै लेभान्टेले बार्सिलोनाबिरुद्ध स्पेनिस फुटबल संघमा उजुरी हाल्ने बताएको छ ।

बार्सिलोनाका अधिकारीहरुले भने आफूहरुले कुनै गलत काम नगरेको दाबी गरेको छ । गएको नोभेम्बरमा नियम परिवर्तन भएकाले कोपामा खेलाडी निलम्बन नहुने उसको भनाइ छ । सन् २०१५ मा प्रतिबन्धित खेलाडी खेलाएको आरोप प्रमाणित भएपछि रियल मड्रिडलाई अयोग्य घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७५ शुक्रबार ००:००  ३ : १६ बजे