४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

पाँचौ बराहादह मेला भव्य रुपमा सम्पन्न



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँची क्षेत्रबाट प्रतिनिधी सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले आफु शितगंगाको समृद्धि र विकासको लागि केन्द्रबाट विशेष पहल गर्दै आएको बताउनु भएको छ । अर्घाखाँचीलाई समृद्ध बनाउन यस नगरलाई भौतिक पूर्वाधार विकासको हिसाबले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै रायमाझीले गोही पाईने यस बराहदहको विकास तथा प्रवर्द्धन गर्ने अभियानमा आफु निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । माघ १ गते शितगंगा नगरपालिका वार्ड नं. ९ बराहादहमा आयोजित पाँचौ बराहदह माघी एवम् साँस्कृतिक मेलालाई सम्बोधन गर्दै रायमाझीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय सभाका सांसद चन्द्र बहादुर खड्का (उज्वल) ले एक मात्र गोही पाईने दह हाम्रो गहना भएकाले यसको संरक्षण तथा सर्वद्धन गर्दै धार्मिक एवम् पर्यटकिय रुपमा विकास र प्रवर्द्धनमा अघी बढनु आजको आवश्यकता भएको बताउनु भयो । साथै यस दहमा पाईने गोहीको उत्पत्ति र जैविकताबारे अनुसन्धानको विषय बनाउनु पर्नेमा जोड दिदै यसको विकास तथा प्रवर्द्धनमा सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथीमा ५ नं. प्रदेश सभाका सांसद चेतनारायण आर्चाय, अतिथी शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी, नेकपाका नेता बसन्त श्रेष्ठ लगाएतले कार्यक्रममा बोल्दै बराहदहको संरक्षणमा स्थानिय, प्रदेश र संघ सबै लाग्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपसभापति ऋषि पुलामी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुली, वडा अध्यक्षमा हिम्मत पोख्रेल, रुकेश आले, बुद्धिकृष्ण पौडेल, नगर शिक्षा शाखा प्रमुख माधव बन्जाडे, कार्यपालिका सदस्यहरु, प्रमुख पार्टीका नगर पार्टी प्रमुख, समाजसेवी, लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै चर्चित मोडल तथा गायिका ज्योती मगर, हास्य कलाकार कमल गाउँले, सन्दिप न्यौपाने, विक्रम राना, सुनिता बुढा, पुस्कर खनाल, घनश्याम खनाल लगाएतका राष्ट्रिय तथा स्थानिय कलाकारका प्रस्तुतीले दर्शकलाई मनोरञ्जन गराएका थिए ।
सोही कार्यक्रममा पत्रकार माधव बेल्बासे र गणेश बेल्बासेलाई प्रमुख अतिथिद्वारा सम्मान गरिएको थियो । मेलाको अवसरमा आयोजित नृत्य प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय स्थान कायम गर्ने समूहलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रम वडा अध्यक्ष भिम बहादुर केसीले अध्यक्षता र पूर्ण बहादुर केसीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन गणेश बेल्बासे र दिपक केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  ३ : ३७ बजे