४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

हारेर पनि रियल अन्तिम आठमा, एथ्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो



एजेन्सी ।
रोनाल्डो बिना नीरिह बनेको रियल मड्रिडले हारेर पनि कोपा डेल रेअन्तिम १६ मा प्रवेश पाएको छ भने एथलेटिको मड्रिड बाहिरिएको छ ।
डेल रेको दोस्रो लेग अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा रियल मड्रिड लेगानेससँग १–० ले पराजित भयो । तर घरेलु मैदानमा भएको पहिलो लेगमा ३–० को जित निकालेकाले रियल मड्रिडले समग्रमा ३–१ को जितसहित अघिल्लो चरणमा स्थान पक्का गरेको हो।
अवे मैदानको दोस्रो लेगमा बुधबार राति रियल मड्रिडले गोल गर्ने केही राम्रा मौका बनाएको थियो, तर त्यसमा सफल हुन सकेन । लेगानेसका लागि मार्टिन ब्रेथवेटले गरेको गोल नै दोस्रो लेगमा जितको कारण बन्यो ।


यता एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा घरेलु मैदानमा जिरोनासँग ३–३ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिड अवे गोलका आधारमा पछि परेर प्रतियोगिताबाट बाहिरिएको हो ।अवे मैदानमा भएको पहिलो लेगमा एथ्लेटिको जिरोनासँग १–१ को बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदानमा ३–३ को बराबरी भएपछि समग्रमा ४–४ को बराबरी भयो र जिरोनाले अवे गोलमा एथ्लेटिको मड्रिडलाई पछि पारेको हो । बुधबार रातिको दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि एन कालिनिक, कोरिया र एन्टोनी ग्रिजम्यानले गोल गरे । जिरोनाका लागि फर्नान्डेज, स्टुएनी र गार्सियाले गोल गरे ।

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  २ : ०५ बजे