४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै, धरानबाट विशेषज्ञ टोली इलाम आउँदै



इलाम ।
गएको बुधबारदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । डा. केसीको उपचारको लागि धरानबाट चिकित्सक टोली इलाम हिँडिसकेको डा.केसी निकट धर्म गौतमले बताउनुभयो ।
उहाँका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा ४ सदस्यीय चिकित्सकको टोली इलाम हिँडेका हुन् । चिकित्सकहरु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इलाम आएका हुन् ।
टोलीमा अस्पतालका सहायक निर्देशक विकास शाह, मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजिस्ट डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आईसीयू नर्स निर्मला बस्नेत रहेको बताइएको छ ।
यसअघि जुनियर रेसिडेन्ट डाक्टरहरुको टोली इलाम आइसकेको समेत बताइएको छ । अनसन बसेको सातौँ दिनबाट डा. केसीलाई सुईबाट (आईभी) एन्टिबायोटिक औषधि दिन सुरु गरिएको हो । अहिले मंगलबार (हिजो) को जस्तै स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : २ माघ २०७५ बुधबार ००:००  ८ : २८ बजे